देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनालाइ घरमै परास्त गरेकी नर्स राधिका भन्छिन्- सकारात्मक सोच, सहयोग र आत्मबिस्वास ठूलो कुरा

देशान्तर

लण्डन । कोरोनालाइ घरमै परास्त गरेकी लण्डन नजिकैको रम्फोर्डस्थित क्विन्स हस्पिटलमा कार्यरत सिनियर नर्स राधिका श्रेष्ठ अझै पनि घरमै आराम गरिरहेकी छन् । उनका श्रीमान शरद श्रेष्ठ पनि १२ दिनको ज्वरो पश्चात छातीको संक्रमणको ‘एन्टीबायोटिक’ औषधि सेबन गरेर छुट्टै कोठामा ‘आइसोलेशन’मा बसिरहेका छन् ।

करिब दुइ साता अघिको कुरा हो, राधिका आफ्नो नियमित काम क़ुइन्स हस्पिटलको ‘स्ट्रोक’ वार्डमा काम गरिरहेकी थिइन् । एकजना सहकर्मीले अर्को सहकर्मीको नातेदार कोरोना संक्रमण (कोभिड- १९ पोजिटिभ)का कारण दुखद निधन भएको समाचार सुनायो । राधिकालाइ सारै नरमाइलो लाग्यो । आफ्नो अतिमिलनसार सहकर्मीलाई परेको शोकले राधिकालाई धेरै दुखिद तुल्यायो । दिनभरी उनि ‘अप्सेट’ भइन। त्यो दिन त्यति राम्ररी खाना पनि रुचेन । भोलिपल्ट १२ घन्टे लामो काम (लंग डे डिउटी) थियो । काम सिध्याएर घर आइन् । जिउ अलि भारि भारि, गले जस्तो अनुभव भयो । कामको थकानले होला भन्ने ठानिन् अनि खाना खाएर सुतिन् । राति अचानक उनको शरीर अत्याधिक तात्यो, उठेर ‘थर्मामिटर’ले जाच्दा १०२ को उच्च ज्वरो आएको देखायो । तुरुन्तै ५ सय ‘एमजी’को दुईवटा पारासिटामोलको गोलि खाइन् । उनलाई यस अघि कहिल्यै त्यसरी ज्वरो आएको थिएन । बिहान काममा जान खोज्दा शरीर पुरै दुखे जस्तो भएर उठ्नै सकिनन् । उठ्न खोज्दा रिंगटा लागे जस्तो भयो । फेरि ओच्छ्यानमै सुतिन् । काममा फोन गरेर आफ्नो स्वास्थ्य स्थिति ठिक नभएको र आउन नसक्ने जानकारी दिइन् ।

दोस्रो, तेस्रो र चौथो अर्थात् चार दिनसम्म यो प्रक्रिया चली रह्यो । त्यसबीचमा राधिकाले आफूले काम गर्ने हस्पिटलमा आफ्नो स्वास्थ्यको स्थितिबारेमा जानकारी दिइरहिन् । पहिला उनलाई सात दिनसम्म आराम गर्न भनियो । तर जब उनलाई अलि सारो भएको र खाना पनि रुच्न छाडेपछि भने थप एक साता अर्थात् १४ दिन आराम गर्न भनियो र हस्पिटलबाट कोभिड ‘टेस्ट’को लागि समय (अपोइन्टमेन्ट) दिइयो। टेस्ट सेन्टरमा आफ्नो गाडी भएका मात्रले गर्न पाउने हुनाले उनका श्रीमानले गाडी चलाएर टेस्ट सेन्टर लागे । तीन दिनपछि उनलाई कोभिड पोजिटिभ अर्थात् कोरोना संक्रमण भएको पुस्टि भयो ।

त्यसबीचमा राधिकाका श्रीमान् शरद श्रेष्ठ जो श्रीमती र २ छोरा छोरीको हेरबिचार गर्न काममा बिदा लिएर बसेका थिए उनलाई समेत संक्रमण भैसकेको रहेछ । अब राधिकालाई झन् फसाद पर्‍यो । श्रीमान् एउटा कोठामा, श्रीमती अर्को कोठामा र छोरा छोरी अर्को भिन्दै कोठामा सुत्नु पर्ने बाध्यता आइलाग्यो । तर पनि राधिकाले हिम्मत हारिनन् । राधिका अलि अलि ठिक हुन थालिन । ज्वरो आउन छाड्यो । राधिकाका श्रीमानलाई भने करिब १२ दिनसम्म ज्वरो आइरह्यो । अझैपनि उनि छुट्टै कोठामा बस्ने र अलग्गै बाथरुम प्रयोग गर्छन् । आफू बिरामी हुदा काममा बिदा लिएर आफ्नो र २ छोरा छोरीको स्याहार सुसार गरेका श्रीमानको औषधि, खानालगायत सम्पूर्ण रेखदेख अहिले राधिकाको काँधमा छ । एकप्रकारले घरमै नर्सिङ्गको जस्तो काम गरिरहेकी छिन्, राधिका । उनलाई कामबाट समेत श्रीमान् पूर्णतया सन्चो नहुन्जेलसम्म बिदा दिइएको छ ।

बिगत दुर्इ सातामा आफू र श्रीमान् दुवै एकैपटक बिरामी पर्दाका दिनहरु कहालीलाग्दो भएको राधिकाको स्मरण छ । तर सकारात्मक सोच, आत्मविश्वास र केही ठूलो मन भएका साथीहरुको ठूलो सहयोगले श्रेष्ठ परिवारलाई कोरोनालाई घरमै बसेर परास्त गर्न सफल भएको उनीहरुको कथन छ- ‘दाजु ,भाउजु , बहिनि लगायतका नातेदारहरुले शपिंग लगायत पकाएको खाना बिहान, बेलुकी ल्याई दिएर ठूलो गुण लागाउनु भयो ।’

त्यसैगरी पारिवारिक साथी तथा दाजु पर्ने ब्यबसायी दिपक श्रेष्ठ र नर्ससमेत रहेकी उनकी श्रीमतीले समेत दैनिक जस्तो फोन गरेर सान्त्वना दिने मात्र होइन धेरै पटक पकाएको खानेकुरा समेत ल्याई दिएर बिर्सिनै नसक्ने ठूलो सहयोग गरेको श्रेष्ठ दम्पतिले बताए- ‘कुनै समय परिवारका सबै सदस्य घर भित्रै मस्क लगाएर २ मिटरको दुरीमा रहेर समेत संगै खाना खायौ ।’ नेपालबाट समेत पारिवारका सदस्य तथा डाक्टर किशोर ताम्राकारले दिनहु जसो फोन गरेर सल्लाह र हिम्मत दिएकोमा समेत कोरोनालाई जित्न सक्ने तागत आफूहरुमा आएको श्रेष्ठ दम्पतिको भनाइ छ । यस्तोबेला परिवारका सदस्यहरु, नातेदार र साथीभाईको सहयोग र टेलिफोन कलबाट सान्त्वना, सल्लाह र सम्झना मात्रले पनि ठूलो आत्मबल मिल्ने श्रेष्ठ परिवारको अनुभव छ ।

नर्स समेत रहेकी राधिका आफ्नो जस्तो अवस्था अरुलाई नपरोस भन्न सचेत रहन आग्रह गर्छिन । घर बाहिर काममा वा शपिङ्ग गर्न जादा होस् पन्जा लागाउने, ह्यान्ड सेनी टाईजर प्रयोग गर्ने र घरमा आउना साथ लगाएको लुगा वाशिंग मेसिनमा राख्ने या कुनै सुरक्षित प्लास्टिक ब्यागमा राख्ने, जुत्ता-चप्पल ‘वाइप्स’ले राम्ररी पुछ्ने, अनि नुहाएर मात्र अन्य परिवारका सदस्यहरुलाई भेट्ने साबधानी अपनाउन आग्रह गर्छिन ।

तर यदि कसैलाई आफ्नो जस्तै लक्षण देखापरेर बिरामी हुनु भएको छ भने हिम्मत नहार्न र अत्मबिस्वासले मन दरो पारेर सकेसम्म फलफुल, सुप र पौष्टिक तत्व (ब्यालेन्स डाइट)ले भरिएको खानेकुरा खान सल्लाह दिन्छिन । बेसार पानी, अदुवा पानी, कागती, मह मिसाएर (हट लेमन एण्ड हनी) लगायतको आफ्नो स्वाद र स्वास्थ्यलाई मिल्ने हाम्रो परम्परागत नेपाली घरेलु उपचार समेत जारि राख्न सल्लाह दिन्छिन् । तर ज्वरो आएको छ भने नछुटाई ४ देखि ६ घण्टाको फरकमा परासिटामोल सेबन गर्न र श्वासप्रश्वासको समस्या भएमा बेलायतमा रहनुभएकाहरुको हकमा १११ मा फोन गर्न सल्लाह दिन्छिन। उनी फेरि पनि सबैलाई आत्मबल दरो बनाएर बस्न बिनम्र आग्रह गर्छिन् ।
प्रस्तुति : बिपिन निरौला