काठमाडौं । वीरगन्जमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनीहरुलाई उपचारका लागि आइतबार बिहान नारायणी अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ का एक सय ४६ जनामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको हो । यसअघि कोरोना देखिएका छपकैयास्थित मस्जिदमा बसेका भारतीय नागरिकको सम्पर्कमा आएका थप दुई जनामा कोरोना देखिएको जनाएको छ ।
कोरोनाको देखिएका वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। ४९ वर्षीय पुरुष वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको जनाएको छ। अर्कालाई यस अघि क्वारेन्टाइनमा राखिएको थियो ।
वीरगञ्ज महानगरपाकिलाले कोरोना देखिएका भारतीय नागरिकको सम्पर्कमा रहेका वडा नं. १, २ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
त्यसमध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको स्थानीय प्रशासनको भनाइ छ । यसैबीच स्वास्थ्य मन्त्रालयले पनि उनीहरुमा काेराेना भएकाे जनाएकाे छ।
उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ। यि दुई जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।
प्रतिक्रिया