देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी सिनेटद्वारा ४ खर्ब ८३ अर्बको बजेट पारित, साना व्यवसायीलाई राहत दिइने

देशान्तर

वासिङ्टन । कोरोनाभाइरसका कारण मुख्यरुपमा साना व्यवसायीमाथि परेको आर्थिक संकट समाधान गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ४ खर्ब ८३ अर्ब डलरको आर्थिक प्याकेजलाई अमेरिकी माथिल्लो सदन सिनेटले मंगलबार पारित गरेको छ । यो रकमबाट अस्पताल र कोरोना परीक्षणका लागि पनि खर्च गरिने छ ।

कट्टरपन्थी कतिपय रिपब्लीकन पार्टीका सिनेटरले विरोध गरे पनि उक्त विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यो विधेयक दुबै सदनबाट जतिसक्दो चाँडो पारित हुने विश्वस व्यक्त गरे ।

उनले यो विधेयकलाई डेमोक्र्याट पार्टीको वर्चश्व रहेको तल्लो सदनबाट पनि पारित हुने बताए।

झण्डै दुई साताको मध्यस्थता र ढिलाईबीच कङ्ग्रेस र ह्वाइट हाउसबीच मंगलबार करिब ५ खर्ब डलरको आर्थिक प्याकेजमा सहमति जुटेको थियो ।

सिनेटमा बहुमत पक्षका नेता मिच म्याक्कोनेलले सिनेट जहिल्यै अमेरिकी जनताको पक्षमा उभिएको प्रतिक्रिया दिए । सिनेटमा अल्पमत (डेमोक्र्याट) का नेता चक सुमरले डेमोक्र्याटको दबाबमा अस्पताल र परीक्षणका लागि पनि रकम व्यवस्था गरिएपछि विधेयक निकै राम्रो भएको बताए ।

उक्त विधेयकमा व्यवस्था गरिएको रकममध्ये ३ खर्ब ३१ अर्ब डलर साना व्यवसायीले कर्मचारीलाई तलब दिने प्रयोजनका लागि ऋण उपलब्ध गराउन खर्च हुनेछ । करिब ७५ अर्ब डलर अस्पतालका लागि उपलब्ध गराइनेछ भने २५ अर्ब डलर कोरोनाभाइरसको परीक्षणमा खर्च हुनेछ ।

यसअघि नै ट्रम्प प्रशासनले अघि सारेको करिब २० खर्ब डलरको आर्थिक प्याकेज कार्यान्वयनमा गइसकेको छ ।