काठमाडौं, ९ वैशाख । अमेरिकामा इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो ।
कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकामा तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । यो गिरावटले विश्वभरका तेल बजारमा असर परेको छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।
यसरी गिरावट हुनुको अर्थ, तेल उत्पादक देशहरुले अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गर्नुपर्ने अवस्था आएको हो । तेल नबिक्दा उत्पादक मुलुकहरुमा भण्डारणको समस्या बढ्ने देखिएको छ ।
लकडाउनका कारण विश्वभरका मानिस घरभित्रै रहँदा तेलको माग घटेको छ । उता भण्डारण गर्ने ठाउँ सकिएपछि तेल कम्पनीहरु ट्यांकरसमेत भाडामा लिएर तेल राख्न बाध्य भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेलको मूल्यमा ऐतिहासिक गिरावट आउँदा चासो बढ्नु स्वाभाविक हो भन्दै अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने बताएका छन् ।
यसै महिनाको सुरुवातमा तेल उत्पादक देशहरुको संगठन ओपेकका सदस्य देशहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमति गरेका थिए । तर तेल उत्पादनमा कटौती गरेर समस्या सुल्झिएन र भाउ ऋणात्मक बन्न पुगेको हो । समुद्र र जमिनमा पनि भण्डारणस्थल भरिएको र राख्ने ठाउँ अभाव हुँदा समस्या आएको बताइएको हो ।
प्रतिक्रिया