ब्रह्माले यो संसारको श्रृष्टि गर्दा अत्यन्त ध्यान पुर्याएर एउटा सुन्दर पृथ्वीको परियोजना बमोजिम मानव जातिलाई अवतरण गराएर प्रकृतिसँग सन्तुलन र समन्वय कायम गरेर अघि बढ्नु पर्ने कुरा धर्मशास्त्रहरूमा भनिएको रहेछ । वेद, उपनिषद् र अन्य धर्मशास्त्रहरूले पनि त्यही कुरा दर्शाउँछ तर आजको मानवसमुदायले त्यसलाई उल्लंघन गरेको स्थिति र अवस्था छ ।
प्रकृति आराध्या भएकाले सदैव पूजा–पाठ गर्नु पर्ने हुन्छ । प्रकृतिलाई सदैव खुशी पारेर राख्नु पर्ने हुन्छ । मानवजातिका लागि प्रकृति प्रिय, सुन्दर र सहयोगी भएकाले सदैव उनीलाई लिएर हिँडनुपर्ने हुन्छ । मानव जातिले प्राकृतिक नियम–कानूनहरूको उल्लंघन गर्दै अघि बढेकाले आजको यो भयावह विश्वव्यापी कोरोना महामारीको स्थिति आएको पनि हुन सक्छ ।
भगवानलाई सोझै नमान्नेहरूले प्रकृतिका रूपमा माने पनि हुन्छ किनकि एउटा अदृश्य शक्तिले यो ब्रह्माण्डलाई संचालन गरिरहेको छ भन्ने विश्वास छ । आजको मानवजातिले विज्ञान र प्रविधिको क्षेत्रमा आश्चर्यजनक उपलब्धि हासिल गरेको आजको दिनमा पनि विज्ञान रोएर बसेको छ । संसारका वैभवशाली र समृद्धशाली राष्ट्रहरूले पनि आजको सुक्ष्मतम जीवाणुबाट हार मान्नु परेको स्थिति छ । सारा संसार एउटै समयमा स्तब्ध छ । विश्वव्यापी रूपमा लकडाउन र सट्डाउनको स्थिति विद्यमान छ । अद्यपरिमित कुनै औषधि अथवा खोपको आविष्कार भई नसकेको स्थिति छ । अमेरिका, यूरोप, अष्ट्रेलिया, ईटली, स्पेन, चीन, भारत र नेपाल सबैतिरको स्थिति मारात्मक र सांघातिक छ । विश्वभरिका धनी–गरीब, शिक्षित–अशिक्षित, राजा–रंक सबैलाई एउटै ठाउँमा ल्याई दिएर एउटै सन्देश दिएकी छन् कोरोनाले– “प्रकृतिलाई साक्षी राखेर यहाँको इको–सिष्टमलाई जोगाएर राख । भगवानले सृस्टि गरेका सबै प्राणीहरू जस्तै हरेक जीव–जन्तु, चरा–चुरूँगी, रूख–विरूवा, फल–फूल इत्यादिलाई जोगाएर राख, सन्तुलन र समन्वयमा अघि बढ । विज्ञान र प्रविधिको जतिसुकै विकास र उन्नति–प्रगति भएता पनि मानवजातिको समाजनीति, राजनीति, अर्थनीति र सबै नीतिहरूलाई सामजस्य, समन्वय र सन्तुलनमा राखेर लैजाऊ” । यो अत्यन्त ठूलो सन्देश हो प्रकृतिको समस्त मानव समुदायलाई ।
आजको यो निराशाजनक र त्रासपूर्ण अवस्थाबाट मानव समुदायले कसरी परित्राण पाउन सक्छ भन्ने विषय र सन्दर्भले एउटा ठूलो प्रश्नवाचक चिन्ह खड़ा गरि दिएको छ । युद्ध, आतंक, हत्या, रोग, भोक, शोक, मँहगी, प्रदुषण, भ्रष्टाचार, व्यभिचार, अनाचार, अत्याचार, व्यभिचार र बलात्कारबाट क्षत–विक्षत भएको यो समाजलाई कसरी मुक्त गर्ने भन्ने विषयले प्राथमिकता पाउनु पर्ने बेलामा ‘कोरोना’ संक्रमणको अर्को चिन्ताले विश्वसमुदाय चिन्तित छ ।
सबै प्रश्नहरूको एउटै जवाफ छ : “मानवीयताबोध”– यू टर्न ( U Turn) ।
आफ्नो वैदिक सभ्यता र सँस्कृति अनुरूप हाम्रो जीवनपद्धतिलाई सिंहावलोकन गरौँ र तदनुरूप अघि बढौँ । यस सम्बनधमा मेरा नौबुँदे धारणा अथवा मान्यताहरू यसप्रकार छन :
१. घरैमा बसौँ ! आँफू पनि सुरक्षित रहौँ र अन्यहरूलाई पनि सुरक्षित राखौँ ।
२. हाम्रा औषधिजन्य खाने कुराहरू खाऊँ । जस्तैस् अदुवा, लसुन, प्याज, मरीच, बेसार, टिम्मूर, ज्वानो, जीरा, धनिया आदि-इत्यादिको दैनिक सेवन गरौँ ।
३. फल–फूलहरू जस्तै कागती, निम्बु, आँप, एभाकाडो, सुन्तला, जुनार, नासपती, टाँकीको पात वा फूल, बेलपात वा बेल तथा अन्य फलादिहरूको आवश्यक मात्रामा उपभोग गरौँ ।
४. योगासन, आयाम, व्यायाम, प्राणायाम, ध्यान आदि-इत्यादि नियमित रूपले गरौँ ।
५. सम्प्रति सामाजिक दुरत्वमा बसौँ ।
६. उच्च मनोबलमा बसौँ । नकारात्मक धारणा र सोचहरूलाई परित्याग गरौँ ।
७. रचनात्मक कार्य र आ–आफ्ना रूचि–अभिरूचिहरूमा समय दिऊँ जस्तै साहित्यकारहरूले पढ्ने र लेख्ने कामहरू गरौँ । कृतिहरूको रचना गरौँ । गीतकार, संगीतकार र गायकहरूले गाउने–बजाउने काम गरौँ ।
८. अन्य व्यक्तिहरूले आ( आफ्ना रूचि अनुसारका कार्यहरू बगैँचाबारी, करेसाबारी र अन्य कार्यहरू गरौँ । केही नहुने हरूले बेला-बेलामा रेडियो, टेलिभिजन हेरौँ अथवा अन्य मनोरंजनका कार्यहरू गरौँ । बिहान–बेलुकी पूजा–पाठ, कीर्तन–भजन आदि–इत्यादिमा आँफूलाई व्यस्त राखौँ ।
९. राजनीतिज्ञ अथवा जनप्रतिनिधिहरूले वर्तमान र भविष्यका कार्यक्रमहरू बनाऔँ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाऔँ ।
साराँशमा भन्नु पर्दा, सकारात्मक भएर यो कालखण्ड व्यतीत गरौँ । एकपटक हामीले फेरि नराम्रा दिनहरू बेहोर्नु परेता पनि अन्ततोगत्वा नवजागरण र पुनर्जागरणका दिनहरू आउनेछन ।
(लेखक संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका निवासी हुन् । सं.)
२०७७ वैशाख ७ गते प्रकाशित देशान्तर साप्ताहिकबाट
प्रतिक्रिया