अहिले कोरोना कहरबाट गुज्रँदै आएको छ विश्व नै । चीनको वुहानबाट फैलिएको कोभिड– १९ को मारमा परेको छ आजको मानव जाति । एसियाबाट उत्पन्न यो भाइरसले विश्वका २०० भन्दा बढी देशलाई प्रत्यक्ष प्रभावमा पारेको छ ।
विपद् अवश्यम्भावी हो । प्रकृतिमाथि आजसम्म मानवले विजय गरेको छैन । यस कारण प्रकृतिले मानव जातिमाथि पटकपटक परीक्षा गरेको छ । प्राकृतिक सन्तुलनका लागि प्रकृतिले कहिले ज्वारभाटा, कहिले सुनामी, कहिले भूकम्प, कहिले बाढीपहिरो त कहिले ठूलाठूला महामारी सिर्जना गर्दै आएको छ ।
मानव सभ्यताले सिर्जना गरेका असभ्यताहरूको परिणाम पनि कतिपय यस्ता विपद्को भुँमरीमा पर्नुपरेको छ । यी यस्ता जोखिम र विपद्लाई मानिस स्वयंले सामना गर्नुपर्ने हुन्छ । यसबाट अन्ततः क्षति व्यहोर्ने पनि मानव नै हो ।
यसबेला यही भाइरसको महामारीको चपेटाबाट मुक्तिका लागि धेरैजसो देश घोषित/अघोषित लकडाउनको अवस्थामा छन् । आर्थिक, औद्योगिक, सांस्कृतिकलगायतका धेरै कामहरू स्थगित छन् । यसबेला सामाजिक दूरी नै कोरोनाबाट बच्ने उपयुक्त उपाय बनेको छ । एकान्तवास अर्थात् क्वारेन्टाइन नै यसबेला सामाजिक दूरी कायम गर्ने भरपर्दो उपाय भएकाले प्रायः मानिसहरू अहिले घरमै एकान्तवास वा होम क्वारेन्टाइनमा छन् ।
ज्यानभन्दा ठूलो अन्य चिज हुन सक्दैन । ज्यान बचे मात्र अन्य कुराहरूको माने रहन्छ । यसर्थ हरेकले अहिले ज्यान जोगाउनतिर लाग्नु बुद्धिमानी ठहर्ने देखिएको छ ।
स्रष्टाहरू पनि यसबेला कोरोना त्रासमा छन् । योबेला बढी डराउने, त्रसित हुने बेला होइन बरु बढी सचेत र सतर्क हुने बेला हो भनेर जनस्वास्थ्यविज्ञ, मनोविद्हरूले भन्दै आएका छन् । तथापि, स्वाभाविक कुरा हो- हाम्रो मनोविज्ञानमा त्रास र डर सिर्जना हुन्छ, भइरहेकै छ ।
यस्तो बेलामा स्रष्टालाई सजिलो हुने अधिकांशको राय हुन्छ । यो किनभने, स्रष्टा कल्पनाशील, सिर्जनशील हुन्छ । स्रष्टा सिर्जनामा रमाउँछ । दुःख, पीडा वा अप्ठ्यारालाई सिर्जनामा प्रस्तुत गरेर आफूलाई हलुका बनाउँछ ।
तर, त्रास र डर भन्ने कुरा यी सबैभन्दा बढी र माथि हुन्छ । यसर्थ मानिस यस्तो बेलामा विचलित भएको हुन्छ । सहज र सामान्य अवस्थामा उसले सिर्जनशील कर्म गर्न सक्दैन । जबर्जस्त गरिएको सिर्जना त्यति प्रभावकारी बन्न सक्दैन पनि ।
तथापि, सर्जक र कलाकारका लागि पीडा, दुःख र तनाव व्यवस्थापनको उपयुक्त माध्यम भनेको सिर्जना नै हो । सिर्जना साधना पनि हो । साधनामा लीन हुन सके, ध्यानपूर्वक सिर्जनामा लाग्न सके पक्कै पनि तनाव व्यवस्थापन हुन सक्छ । यसले अन्यलाई पनि एक प्रकारको ऊर्जा दिन सक्छ, आनन्द दिन सक्छ ।
अहिले सामाजिक सञ्जालमा कोरोनाविरुद्धका, सचेतनाका, जीवनबोधका, आशावादिताका रचनाहरू प्रशस्त आइरहेका छन् । यी रचनाले आनन्द र त्रासबाट केहीबेर भए पनि मुक्ति दिएका छन् भने सचेतना पनि फैलाइरहेका छन् ।
हो, यसरी नै योबेला सिर्जनशील व्यक्तिहरूले सिर्जनामार्फत् यो महामारीको भयबाट मुक्त गराउने प्रयास गर्नु जरुरी छ । विपद्सँग जुध्न सबैभन्दा ठूलो कुरा सचेतता र आत्मबल हो । यस्ता सचेतता र आत्मबल बढाउने सामग्रीको अहिले आवश्यकता छ ।
सबै सर्जकहरू यो वैश्विक संकटबाट मानिसलाई मुक्त गर्न आआफ्नो क्षेत्रबाट लागौं, प्राकृतिक विपद्लाई सामूहिक प्रयत्नबाट पराजित गरौँ, सुन्दर, शान्त संसार निर्माणमा सबै जुटौँ ।
सबैको कल्याण होस् ।
प्रतिक्रिया