विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आर्थिक सहायता रोक्ने अमेरिकाको निर्णयको इरानले विरोध गरेको छ ।
कोरोनाबाट धेरै मानिसहरुको मृत्यु हुनुको दोष अमेरिकाले डब्लुएचओलाई लगाएको बेला अमेरिकाले मान्छे मार्छ भन्ने कुरा विश्वलाई थाहा भएको भन्दै कडा शव्दमा इरानले आलोचना गरेको हो ।
इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले ट्वीटरमा मार्फत महामारीको बीच डब्लुएचओको आर्थिक सहायता रोक्नु लज्जास्पद भएको पनि उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस संक्रमणको महामारी फैलिनुमा डब्लुएचओ दोषी रहेको भन्दै दिँदै आइएको आर्थिक सहायता रोक्न निर्णय गरेका थिए ।
ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाएका छन् । डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ ।
अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर आर्थिक सहायता उपलब्ध गराएको थियो ।
प्रतिक्रिया