देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

होस्टे र हैंसेको संस्कृति विलुप्त नहोस्

देशान्तर

इस्बी सम्बत्को २०१९ बिदा भएर जाँदा २०२० लाई नयाँ वर्षको शुभकामनाको बदला कोरोना भाइरसको उपहार प्रदान गरेर गयो, सम्पूर्ण विश्व आज त्यसैबाट आक्रान्त हुन पुगेको छ । नेपाललाई भने त्यो महामारी, लुतो न कन्याई हुनुपर्ने हो, तर भएको छ, लाहुरे संक्रमणको मनोवैज्ञानिक विपद् । अहिलेसम्म त्यो रोगको संक्रमणले नेपाली एकजना पनि मरेका छैनन्, सबै सकुशल छन् । त्यो राम्रो पक्ष हो तर मनोवैज्ञानिक असर भने यत्ति गम्भीर छ कि त्यसको पीडाबाट कोही मुक्त छैनन् । त्यसैले विसं २०७७ को स्वागत नगरिएको नयाँ वर्षका रूपमा दर्ता हुन पुगेको छ । त्यसमाथि भक्तपुरका निम्ति २५१ वर्षपछि फेरि अर्को बिस्केट जात्राविहीन वर्ष बन्न पुगेको छ । त्यसबेला पृथ्वीनारायण शाहले विसं १८२५ मा भक्तपुरका राजा रणजित मल्ललाई जितेर काशी जान बाध्य पारेको घटनाको यादमा स्थानीय जनताले बिस्केट जात्रा मनाएका थिएनन् । यसपालि लकडाउनका कारण त्यो ऐतिहासिक जात्रा रद्द भएको छ । यद्यपि भक्तपुरमा कसैलाई त्यो रोग संक्रमण भएको छैन र त्यसको सम्भावना पनि छैन, किनभने उनीहरूमा अरू नेपालीको भन्दा पनि भाइरसको प्रतिरोध गर्ने क्षमता उच्च स्तरको छ । कोरोनाले पनि उनीहरूलाई छुन सक्तैन ।

चीनबाट फैलेको कोरोना भाइरस, युरोप र अमेरिका हुँदै हवाईजहाज चढेर नेपाल आइपुगेको हुनाले गाउँघरमा त्यसलाई पनि “लाहुरे महामारी” भन्न थालिएको छ । चीनको युहान सहरबाट सुटुक्क नेपाल आएको भए, पाहुना रोग भन्न हुन्थ्यो । तर त्यो हिमाल चढेर नेपाल ओर्लिन नसक्ने रहेछ, त्यसैले जेट चढेर युरोप र अमेरिकाको सयर गरिसकेपछि नेपाल जाउँ कि नजाउँ भनेर महिनौं जोखना हेरेपछि बल्ल ढोका ढक्ढकाउन आइपुगेको हो । त्यो पनि नेपालीको शत्रु बनेर होइन, मित्र तथा पाहुना बनेर आएको छ । तर नेपालमा त्यसले अझै स्वागत पाएको छैन, नेपालीले चाहिँ उसको आतंकबाट सास्ती पाउनसम्म पाइसके ।

हामीलाई पहिलेदेखि नै विदेशीले लाहुरे जाति भनेर पुल्पुल्याएका हुन् कि होच्याएका हुन्, त्यो अझै खुट्टिन सकेको छैन । हाम्रो राजनीति एनजीओ र आईएनजीओले चलाइदिएकाले अथवा अर्थव्यवस्था पनि लाहुरेहरूकै रेमिट्यान्सले चलेकाले मात्र पनि होइन, न माओवादी जनयुद्ध र लोकतन्त्र पनि लाहुरेहरूकै काँध चढेर आएकाले त्यसो भन्न खोजिएको हो, न संविधानसभाको एजेन्डा, धर्मनिरपेक्षता, संघीयता र समानुपातिकजस्ता नेपालीले नसुनेका र नचिनेका एजेन्डा, किन बोक्न परेको हो, ती सबै नेपालीले कहिल्यै कसैसँग सोधेका छैनन् । सोध्ने हाम्रो आदत नै हराइसकेको छ । हामी त लहैलहैमा दौडिने लाहुरे जातिका सन्तति हौ । त्यसैले यसपालिको कोरोना भाइरसको कोकोहोलो पनि किन आयो र कसरी आयो, बुझ्दै नबुझी लकडाउनको यातना झेलिरहेछौं र अझ कति झेल्नुपर्ने हो, त्यसको पनि पत्तो छैन ।

पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली सेनाका धेरै जवानको बिनाकारण ज्यान गयो । ती दुवै युद्धमा पनि अहिलेजस्तै नेपाल र नेपालीको प्रत्यक्ष सम्बन्ध र सरोकार थिएन । तिनताकाका शासक– राणाहरूले आफ्नो सत्तास्वार्थ पूरा गर्न ब्रिटिस सरकारको चाकरी पुर्‍याउनु पर्ने भएकाले दुवै महासमरमा नेपाली जवानहरूले बलिदान दिनु परेको थियो । कोरोना भाइरसका सन्दर्भमा पनि नेपालीहरू सत्ताधारीहरूको लहैलहैको सिकार बन्न पुगेका त छैनन् ? त्यसको जाँच र परीक्षण भएको छैन । ठूला र धनी देशले प्राकृतिक सम्पदाको दोहन गरेर वातावरणलाई प्रदूषित तुल्याउने अनि त्यसैका कारणले उत्पन्न प्रकोप र महामारी गरिब र विपन्न देशका जनताले व्यहोर्नुपर्ने विडम्बनामा कोरोना भाइरस बरु, गरिबको मित्र र धनीको शत्रुका रूपमा देखा परेको छ । एसिया र अफ्रिकाका गरिब तथा पिछडिएका देशमा त्यसले डेरा जमाएको छैन । त्यसको सफर विकसित तथा समुन्नत देशका सफा र राम्रा अस्पतालमा मात्र हुने गरेको छ । मानौं, उसको प्रयास, धनीलाई ओराल्ने र गरिबलाई उचाल्ने जादुगरको चमत्कारिक छडीको कथाको नयाँ संस्करण हुन पुगेको होस् ।

विज्ञानको आजसम्मको विकास र विस्तारलाई चुनौती दिने कोरोनाभाइरसले गरिबलाई न्याय दिने कुरा, मनोविनोदको विषय हुन सक्छ तर यथार्थ त्यो होइन र हुन पनि सक्तैन । आधुनिक युगको मानव सभ्यता, विज्ञान र प्रविधिमाथि निर्भर रहेको र त्यो जुन स्तरमा छ, त्यसलाई समेत निरीह र निरूपाय साबित गर्ने वैश्विक महामारीको हाँकलाई चुनौती दिने उपचार पद्धतिको विकास एक दिन अवश्य होला । तर अहिले त त्यो पनि पुर्परोमा हात लगाएर बस्न बाध्य छ । जबसम्म विज्ञान र प्रविधिको क्षेत्रले आफ्ना आजसम्मका उपलब्धिको रक्षा गर्न कोरोना भाइरसजस्ता घातक रोगको सामना गर्ने उपचारविधिको विकास गदैन, तबसम्म विश्वको आर्थिक, सामाजिक तथा वैज्ञानिक विकासको औचित्य सावित हुन सक्तैन ।

नेपालीलाई समवेदनाभन्दा शुभकामना प्रिय र रमाइलो लाग्छ । हामी पनि कोरोनाको कटुतालाई बिर्सेर रमाइलोपनमा रमाउने मन सबैलाई उपलब्ध होस् भन्छौं । त्यसैले २०७७ साल, पुराना सबै प्रकारका अप्रिय प्रसंग मेटेर नयाँ कीर्तिमान कायम गर्ने दिशामा हामी सबैलाई अग्रसर तुल्याउन प्रेरक तथा समर्थ बनोस् । बिस्केट जात्राको अभावमा “होस्टे र हैंसेको” संस्कार र संस्कृतिको समृद्ध परम्परामा तुषारापात हुन पुगेको छ, तापनि कामना गरौं, त्यसको पुनस्र्थापना छिट्टै हुनेछ र हाम्रा आगत पनि विगतजस्तै अनेकतामा एकताको द्योतक बन्नेछ ।