पश्चिमा शक्तिशाली एवम् विकसित देशहरूसहित दुनियाँ अकल्पनीय र डरलाग्दो विश्वव्यापी महामारी कोभिड – १९ (नोवल कोरोना भाइरस) संक्रमण विरुद्ध निकै कठिनाइका साथ जुधिरहेको अवस्थामा दक्षिण एसियाली सानो हिमाली राज्य नेपाल त्यसबाट अप्रभावित रहने कुरा भएन । सरकारले महामारीबाट बच्ने सबैभन्दा भरपर्दो उपाय सोसियल डिस्ट्यान्सिङलाई प्रभावकारी बनाउन अन्य देशले गरे जस्तै सिंगो देश लकडाउन गरेको छ । आज लोकप्रिय देशान्तर साप्ताहिकमा मेरो यो लेख प्रकाशित भइरहँदा देश लकडाउनको २० औं दिनमा चलिरहेको छ ।
नागरिक स्तरका छिटपुट घटनाबाहेक कोरोना भाइरस विरुद्धको महाअभियानमा सबैले सरकारलाई साथ र सहयोग गरिरहेका छन् । तराईका सीमा क्षेत्र अझ विशेष गरेर सुदूरपश्चिम प्रदेशको भारतीय सीमा क्षेत्र बढी संवेदनशील देखिएका छन् । राजनीतिक दलहरूदेखि सञ्चार जगत् र आम जनताले सरकारको साथमा एकताबद्ध भएर उभिएका छन् । तर दुभाग्यः सरकारका मन्त्रीहरू ‘कात्रो र कफिन बक्स खरिदमा पनि कमिसन खान खोज्या छन् । कोराना भाइरसको महामारीको अवस्थामा अत्यावश्यक मेडिकल सामग्रीको खरिदमा कमिसन खोज्नु, भ्रष्टाचार गर्नु भन्या कात्रो र कफिन बक्समा कमिसन खान खोज्या बराबर नै हो । कोरोना महामारीविरुद्ध लड्नका लागि ३।४ अर्बको मेडिकल सामग्री खरिदका क्रममा सरकारका जिम्मेवार मन्त्रीहरू कमिसनको खेलमा लिप्त भएर दुनियाँकै अगाडि देशको बदनाम गरिहेका छन्, तिनका अनुहार सम्झेर÷हेरेर आम जनताको शिर लज्जाले झुकिरहेका छ । तर त्योभन्दा पनि लज्जाको कुरा भ्रष्टाचार र बेथितिका विरुद्ध उभिनुपर्ने प्रधानमन्त्री भ्रष्टाचारीको दिनदिनै प्रतिरक्षा गर्दै हिँडेका छन् र स्वयम् भष्टाचारको मतियार बनिरहेका छन् ।
एकातर्फ आम जनताको साथ र सहयोग पाएर पनि कोरोना संक्रमणबाट देश र जनतालाई बचाउने कार्यमा सरकारको जुन स्तरको तदारूकता रहनुपथ्र्यो त्यो निर्वाह गर्नबाट सरकार असफल मात्र होइन वेपर्वाह नै देखियो ।
उत्तरी छिमेकी देश चीनको वुहान सहरबाट फैलिएको कोराना महामारीको संक्रमणबाट बच्नका लागि तयारी रहन हामीलाई पर्याप्त समय थियो, तर सरकारले समयको सदुपयोग गरेर कोरोना भाइरस महामारीको विरुद्ध लड्नका लागि आवश्यक मेडिकल सामग्रीसहित बन्दोबस्ती गरेर तयारीको अवस्थामा रहन कुनै तदारुकता र सतर्कता देखाएन । संक्रमणविरुद्ध लड्नका लागि चाहिने अत्यावश्यक मेडिकल सामग्री खरिदका खोलिएको टेन्डरको फाइल दुई महिनाभन्दा लामो समय दराजमा नै थन्क्याएर राख्यो । त्यो फाइल जति टक्टक्याए पनि त्यसबाट कमिसनको मोटो रकम नआउने भए पछि टेन्डरलाई खारेज गरेर, बिना प्रतिस्पर्धा तीन घण्टाभित्र नयाँ निर्णय गरेर कुनै अर्कै प्रयोजनका लागि खडा भएको कम्पनीलाई मेडिकल सामग्री खरिद गर्न स्वीकृति दिनु, सो कम्पनीले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा कयौं गुणा बढी मूल्यमा निर्धारण गरेर (समाचारमा प्रकाश भएअनुसार कतिपय सामग्रीको मूल्य बजार मूल्यभन्दा ४८ गुणा बढी राखेर ल्याइएको) ल्याइएका सामग्रीसमेत प्रयोग गर्नै नसकिने गुणस्तरहीन हुनु र त्यस्तो कुत्सित कार्यमा स्वयम् सरकारका मन्त्री नै संलग्न देखिनु देश कोराना भाइरसको महामारीको त्रासमा रहेको बेला, देश र जनताको स्वास्थ्य माथिको योभन्दा ठूलो खेलबाड र धोखा अरू हुन सक्दैन । तर स्वास्थ्य मन्त्रालयबाट कोरोना भाइरसका विरुद्ध लड्नका लागि मेडिकल उपकरण र सामग्री खरिदमा भएको यत्रो भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री ओली बेखबर भएको नाटक गर्नु र अनि सोही प्रकरणका सार्वजनिक रूपमा आरोपित उपप्रधानमन्त्री तथा कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको बचाउमा प्रधानमन्त्री आफंै अग्रसर हुनु कति दुर्भाग्यको विषय हो ?
भ्रष्ट र देश जनता माथि यति ठूलो ठगी गर्ने ओम्नी ग्रुमसँग ठेक्का सम्झौता खारेज गर्ने र धरौटी रकम जफत गर्ने भनेर सरकारले गरेको निर्णय कार्यान्वयनमा सरकारी उदासीनता र हवाई कम्पनीको उडान भाडा तिर्न कम्पनीको आनाकानीले सरकार र कम्पनीबीचको भ्रष्ट गठबन्धनलाई राम्रोसँग उजागर गरेको छ । सरकारको साथ नभै ओम्नी कम्पनीले यति ठूलो भ्रष्टाचार गर्ने आँट गर्यो भनेर कल्पना नै गर्न सकिन्न तर आफ्नै नाकको अगाडि भएको यत्रो भ्रष्टाचार र ब्रम्हलुटको घटनामा ‘चोर बिरालो जस्तो साखुल्य भएर जसरी’ प्रधानमन्त्रीले आफूलाई कुनै जानकारी नै नभएको बताउनु प्रधानमन्त्रीको जवाफदेहीविहीनताको पराकाष्टा हो, यो देशप्रतिको ठूलो बेइमानी र जनताले मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएका छन्, मैले जे गरे पनि हुन्छ भन्ने जनताप्रति चरम बेपर्वाह र हेपाह प्रवृत्ति हो ।
आर्थिक नियमलाई मिचेर ओम्नी समूहलाई चीनबाट मेडिकल सामग्री ल्याउन ठेक्का सम्झौतामा भएको वदनियत र भ्रष्टाचारको प्रसंग र त्यस कम्पनीले ल्याएको सामग्री गुणस्तरहीन भएपछि प्रधानमन्त्री ओलीको आदेशमा सामग्री ल्याउन नेपाली सेनालाई जिम्मा दिने निर्णयले सरकारको निकम्मापनलाई नराम्रोसँग उदांगो पारिदिएको छ । सरकार विधि र प्रक्रिया पुर्याएर पारदर्शी ढंगले दुई चार अर्बको सामग्री खरिद गर्न सक्ने हैसियतमा पनि छैन भन्ने कुरालाई यो घटनाले प्रमाणित गरेको छ । यस घटनाले भ्रष्टाचारको जरजरमा राज्य कति खोक्रो भइरहेको छ भन्ने कुरालाई मात्र उजागर गरेन सेनालाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको काममा अल्झाएर सेनालाई विवादमा तान्न खोज्नु अर्को दुःखद् घटना हुन पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद तवरले वक्तव्य दिँदै सरकारको सुझबुझ र सावधानीले कोराना भाइरसको संक्रमण नफैलिएको भनेर सरकारको प्रशंसा गर्नु अर्को राजनीतिक तमासाको खेल यस बीचमा भयो ।
कोराना संक्रमणको कहरका बीचमा परिस्थितिको संवेदनशीलतालाई बिल्कुलै पर्वाह नगरी लकडाउनमा कतै कुनामा बसेको मौकामा के बोलौं र चर्चामा आउँ भन्ने आकांक्षाबाट अभिप्रेरित भएर नेपाली कांग्रेसजस्तो जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने दलको जिम्मेवार नेताबाट लहडको भरमा ‘सर्वदलीय सरकार’ को गीत गाउनु र ‘मध्यावधि निर्वाचन’ को राग अलाप्नु लज्जास्पद विषय हो । त्यसैगरी आफ्नै पार्टीको एकल बहुमतको शक्तिशाली सरकार छँदाछँदै सरकारको काम कारबाहीलाई कसरी चुस्त र प्रभावकारी वनाउने र त्यसमा आफूले कसरी सकारात्मक भूमिका खेल्न सकिन्छ भनेर नसोच्ने नेकपा अध्यक्ष क. प्रचण्डको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्रको औचित्य खोज्नु अर्को निकम्मापनको उदाहरण हो ।
आर्थिक सम्पन्नता र सामरिक शक्तिका दृष्टिले शक्तिशाली मानिएका राष्ट्रहरूलाई त कोरोनाको संक्रमणसँग लड्न हम्मेहम्मे भइरहेको अवस्थामा नेपाल जस्तो आर्थिक दृष्टिले मात्र होइन राजनीतिक दृष्टिले समेत गरिब राष्ट्रलाई कोरोनासँग लड्न सहज हुने कुरा होइन । देवादी देव भोले बाबा पशुपतिनाथको आशीर्वाद भनौं, आम जनताको सदाशयता र सतर्कता अनि सरकारकै प्रयासले मानौं, सौभाग्यले आज भन्दा ४० दिन अगाडि कतार एअरको उडानबाट पहिलो पटक नेपाल भित्रिएको कोराना भाइरसको संक्रमितको संख्या धन्न आजसम्म ९ जनामा मात्र सीमित देखिएको छ । अन्यथा भएको भए सरकारको निकम्मापन, लाचारी र लापरबाहीको कारणले यो भयाभह हुन सक्थ्यो ।
भ्रष्टाचारको शून्य सहनशीलताको कुरा गरेर कहिल्यै नथाक्ने र म भ्रष्टाचारीको मुखै हेर्दिनँ भनेर दुनियाँ हँसाउने प्रधानमन्त्री ओली आफैं भ्रष्टाचारीबाट घेरिएको मात्र होइन, प्रधानमन्त्रीको सपोर्ट नभै मन्त्रीहरूले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन्, यहाँ त भ्रष्टाचार गर्ने मन्त्रीलाई प्रधानमन्त्री ओली स्याबास केटा हो गज्जब गरिस् भन्ने शैलीमा ढाढस दिँदै हिँडेको शैलीमा मन्त्रीहरूको भ्रष्टाचारलाई उल्टो प्रोत्साहित गर्दै हिँडेका छन् । प्रधानमन्त्री भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूलाई कारबाही गर्ने भन्दा मन्त्रीहरू माथि लागेको भ्रष्टाचारको आरोपलाई प्रतिरक्षा गर्ने, भ्रष्टाचारको आरोपलाई बिना तथ्य र आधारमा खारेज गर्ने, मन्त्रीलाई क्लिन चिट दिने आदिमा गैर संवैधानिक एवम् पदीय मर्यादाभन्दा बाहिरका शंकास्पद गतिविधिमा प्रधानमन्त्रीको संलग्नता देखिएबाट प्रधानमन्त्री ओली आफैं भ्रष्टाचारमा लिप्त छन् भनेर आरोप लगाउन पर्याप्त छ । वाइडवडी काण्डमा रवीन्द्र अधिकारीलाई उनले क्लिन चिट दिए, ७० करोडको भ्रष्टाचारको आरोप लागेका उनका प्रिय पात्र गोकुलप्रसाद बाँस्कोटालाई उनले जनदबाबलाई थेग्न नसकेर मन्त्रीबाट हटाएका थिए, तर प्रम ओली निरन्तर रूपमा बाँस्कोटालाई फँसाइएको भनेर ढाकछोप गर्ने प्रयास गरिरहेका छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर मुकाविला गरेको कारण नेकपाको ब्रान्डमा भन्दा पनि खड्कप्रसाद ओलीको ब्रान्डमा नेकपाले निर्वाचन जितेपछि प्रधानमन्त्री ओलीप्रति जनताको अपार विश्वास र भरोसा थियो । प्रधानमन्त्री ओलीप्रतिको जनताको अपार भरोसा विश्वास उनको प्रधानमन्त्री पदको दोस्रो इनिङको विगत दुई वर्ष ५४ दिनमा चकनाचुर भएको छ । रेलगाडी, पानीजहाज लगायतको हल्का सपना बाँडेर लोक हँसाएर बित्यो कि त भ्रष्टाचारको कीर्तिमान कायम गरेर बित्यो । एनसेल, प्रकरण, वाइडवडी, बालुवाटार जग्गा, प्रकरण, मेलम्ची खानेपानी आयोजना प्रकरण, बूढीगण्डकी प्रकरण, ७० करोडको बाँस्कोटा प्रकरण यी उनको कार्यकालका कीर्तिमानी भ्रष्टाचारका उदाहरण मात्र हुन् । निश्चय नै विगतदेखि नै प्रधानमन्त्रीको निजी निवास भ्रष्टाचारको आरोपबाट मुक्त थिएन तर ओलीको पालामा विगतका सबै हद पार गरेको छ, प्रमको निजी निवास अहिले एक प्रकारले भ्रष्टाचारको इपिसेन्टर भएर छ । उनको सहयोगीहरू भ्रष्टाचारका अजगर भएका छन्, बिचौलिया भएका छन् ।
चीनको बुहान सहरबाट सुरु भएको विश्वव्यापी महामारी कोभिड – १९ (कोरोना भाइरस) को महामारीविरुद्धको लडाइँमा देशका डाक्टर, नर्स, मेडिकल स्टाफ, प्रहरी, सेना, अन्य सरकारी निकाय, सरकार, राजनीतिक दलसहित आम जनताको सामूहिक प्रयासबाट नेपाली जनताले निश्चयः नै विजय प्राप्त गर्नेछन् भनेर विश्वास गर्न सकिन्छ तर भ्रष्टाचारको डरलाग्दो महासंक्रमणको बुहान प्रधानमन्त्री निवासबाट फैलिएको भ्रष्टाचारको संक्रमणलाई रोक्न त्यति सहज देखिँदैन । त्यसका लागि त एक पटक जनता नै जुरुक्क उठ्नु पर्छ ।
जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस, घरभित्रै रहनु होस् ! नयाँ वर्ष २०७७ सबैका लागि शुभ रहोस् !
प्रतिक्रिया