देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना कहरः धनीलाई राहत, गरिबलाई आहत!

देशान्तर

जनकपुरधाम – धनुषाको वटेश्वर गाउँपालिकामा मजदुर तथा विपन्न वर्गलाई दिनुपर्ने राहत सामग्री हुनेखाने र धनीमानीलाई वितरण गरेको पाइएको छ। लकडाउनको अवधिमा खाद्यन्न अभावमा छाक टार्न समस्या हुने विपन्न तथा मजदुर परिवारलाई वितरण गर्न भन्दै प्रदेश सरकारले दिएको १० लाख रुपैँयाबाट स्थानीय जनप्रतिनिधिहरुले कार्यविधि मिच्दै मनोमानी ढंगले राहत वितरण गरेका हुन्।

प्रहरी प्रशासनकै अगाडि लकडाउनको उल्लंघन गर्दै करिब ५०/६० जनाभन्दा बढीको भीडमै मनोमानी तरिकाले राहत वितरण गरिएको हो। वडानम्बर १ स्थित चित्रपुरमा १ विघादेखि ३ विघासम्म जग्गा र पक्की घर भएका दर्जनौ परिवारलाई विपन्नको नाउमा राहत वितरण गरिएको छ।  स्थानीयहरुका अनुसार राहत पाउने ती धनीमनी व्यक्तिका परिवारबाट ४ जना सदस्यहरु वैदेशिक रोजगारी रहेका छन्। ‘राहत पाउने अधिकांस परिवारको महिनाको आम्दानी १ लाख रुपैँया बढी छ। केही कमी नै नभएका परिवारलाई पनि राहत दिँदै छ। तर पहुँच नहुने गरिबलाई दिइएका छैनन्,’ स्थानीय बहादुर महतोले भने।

वडानम्बर १ स्थित चित्रपुर, विजयपुर र सोनापुर टोलमा प्रदेश सरकारले पठाएको कार्याविधि अनुसार दुइ दर्जन समेत विपन्न घरपरिवार नपर्ने यो वडामा  शुक्रवार ३ सय बढी घर परिवारलाई राहत वितरण गरिएको हो।
प्रदेश सरकारले पठाएको मापदण्ड अनुसार वडामा ८० घरपरिवारको संख्या समेत नपुग्ने राहत वितरण समितीका सदस्य विजय कुमार महतोले समते स्वीकार गरे। तर स्वंयम सेविकाले पठाएको नामलाई सर्वदलीय बैठकबाट पारित गरिएकाले ती सबैव्यक्तिलाई राहत वितरण गरिएको वडाध्यक्ष शैलेन्द्र महतोले बताए।

राहत वितरणको क्रममा धनीमानी परिवारलाई खाद्यन्न समाग्री दिएको तर गरिबलाई नदिएको भन्दै स्थानीयहरुले जनप्रतिनिधि र प्रहरीसहितको टोलीलाई लखेटेका थिए। धनीमानी तथा पक्की घर भएका परिवारहरुलाई समेत राहत उपलब्ध गराएको र गरिब विपन्नलाई छोडेको भन्दै आक्रोशित स्थानीयहरुले लखेट्दै राहत बोकेको ट्याक्टरलाई घेरेका थिए।

स्थानीयहरु आक्रोशित भएपछि केहीबेर त्यहाँ तनाव समेत उपन्न भएको थियो। ‘राहत कसका लागि आएको हो ? ३/४ विघा जग्गा भएको व्यक्तिहरुलाई राहत दिइएको छ तर गरिब परिवारलाई छोडदिएको छ। यो कहाँको न्याय हो ? यो सरासर यहीँ घर रहेका वडाध्यक्ष र उपमेयरको बदमासी हो,’ स्थानीय राम पुकार महतोले गुनासो पोखे। नागरिक दैनिकमा खबर छ ।