काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर उपलव्ध गराउने भएका छन्। घलेले आफ्नो औषधी उत्पादक कम्पनी सुमि फर्मास्युटिकलबाट उत्पादन शुरु गरेको सेनिटाइजर १० हजार लिटर सरकारलाई उपलव्ध गराउने भएका हुन्।
सुरक्षा ब्राण्डको सेनिटाइजर उत्पादन गरि घलेले पहिलो चरणमा सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गर्न लागेका हुन्। औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि घलेले सोमबारबाट सेनेटाइजर उत्पादन शुरु गरेका हुन्। एक मिलिलिटरको एक रुपैयाँ पच्चिस पैसा मूल्य तोकेर विभागले सेनिटाइजरको उत्पादन गर्न अनुमति दिएको हो।
सरकारले तोकेको मूल्य अनुसार घलेले १ करोड २५ लाखको सेनिटाइजर सरकारलाई सहयोगस्वरुप दिन लागेका हुन्। औषधी व्यवस्था विभागले एक मिलिलिटरको सेनिटाइजरको मूल्य एक रुपैयाँ पच्चीस पैसा तोकेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँगको भेटपछि घलेले प्रत्येक प्रदेशलाई एक हजार लिटरको दरले सात हजार लिटर संघीय सरकारलाई ३ हजार लिटर प्रदान गर्ने सहमति भएको सांसद घलेले हाम्राकुरालाई जानकारी दिए। नवलपुरको कारखानाबाट आफ्नो क्षमता अनुसार सेनिटाइजर उत्पादन शुरु भइसकेको घलेले जानकारी दिए। सरकारलाई प्रदान गरिएको सेनिटाइजर अत्यावश्यक सेवाको क्षेत्रमा प्रयोग गर्नेगरि सहमति भएको सांसद घलेले बताए।
मनाङबाट प्रतिनिधित्व गर्ने सांसद घलले आफू प्रतिनिधित्व गर्ने प्रदेश भएका कारण गण्डकी प्रदेश सरकारलाई आफू स्वयं उपस्थित भएर घलेले उपलव्ध गराउने योजना बनाएका छन्। घलेले कोरोना उपचार हुने अस्पताल, विभिन्न ठूला सरकारी अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी, जेल लगायत समुहमा बस्ने ठाउँमा सेनिटाइजर पहिलो चरणमा उपयोग हुने बताए।
घलेले १० लिटरको जर्किन र आवश्यकता अनुसार त्यो भन्दा ठूलो भाँडोमा पनि उपलव्ध गराउने गरि सेनिटाइजरको प्याकिङ गराइरहेको बताए।
प्रतिक्रिया