काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभ कामना गरेका छन् । मंगलबार बेलायती प्रधानमन्त्री जोनसनलाई ट्वीटरमा मेन्सन गर्दै सभापति देउवाले शीघ्र स्वास्थ्य लाभ कामना गरेका हुन् ।
‘शीघ्र स्वास्थ्य सुधारका लागि शुभकामना छ । म उहाँको सु-स्वास्थ्यका लागि कामना गर्दछु,’ देउवाले भनेका छन् । यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेताहरूले स्वास्थ्य लाभ कामना गरेका थिए ।
बेलायती प्रधानमन्त्री जोनसनलाई सघन उपचार कक्षमा उपचाररत छन् । उनलाई कोरोना भाइरसका लक्षणहरू देखिएको छ । कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि पनि उस्तै लक्षण र ज्वरो देखिएपछि बोरिसलाई उनका चिकित्सकको सल्लाहमा आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो ।
मार्च २७ मा कोरोना भाइरसको लक्षण देखिएपछि बोरिसले आइसोलेसनमा बसेर काम गर्दै आइरहेका थिए ।
प्रतिक्रिया