देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले अमेरिकालाई एक हजार थान भेन्टिलेटर सहयोग गर्ने

देशान्तर

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोना भाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताएका छन् ।

गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिए । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उनले बताए ।

‘हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं’, कुमोले भने । उनले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गरे । उनले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिए । न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गरे ।

यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले एन ९५ सुरक्षात्मक मास्क क्यानाडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाउने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यूयोर्क राज्यका रहेका छन् ।

चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यूयोर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरुलाई आफूसँग रहेका भेन्टिलेटरहरु कोरोनाभाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भन्सन सेन्टरमा दुई हजार ५०० शैंयाको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताए । सेनाले सञ्चालन गर्ने गरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताए ।