नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकै दिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको संख्यामा वृद्धि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमितको संख्या भने बढेर दुई हजार ९०२ पुगेको जनाएको छ । संक्रमितको संख्यामा पनि पछिल्लो २४ घन्टामा ६०० भन्दा बढी वृद्धि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्रालयका अधिकारीहरुकाअनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने दुई हजार ६५० रहेको छ । पछिल्लो समयमा मृत्यु भएकामध्ये तीनजना महाराष्ट्र राज्यका, दुईजना दिल्ली र एकजना गुजरात राज्यका रहेका छन् ।
अहिलेसम्मको विवरणबाट सबैभन्दा धेरै मृत्यु हुनेको संख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसपछि धेरै गुजरातमा नौजनाको मृत्यु भएको छ भने तेलङ्गनामा सातजनाको मृत्यु भएको विवरण छ ।
त्यसैगरी, मध्य प्रदेश र दिल्ली प्रदेशमा छ/छजना, पन्जाबमा पाँच, कर्नाटक र पश्चिम बङ्गालमा तीन/तीनजना र जम्मु तथा काश्मिर, उत्तर प्रदेश र केरलामा दुई/दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्द्र प्रदेश, तमिलनाडु, बिहार र हिमाञ्चल प्रदेशमा कोरोनाभाइरसका कारण एक/एकजनाको मृत्यु भएको छ ।
कुल संक्रमित दुई हजार ९०२ जनामध्ये ५५ जना विदेशी रहेका छन् । संक्रमितको संख्या पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार महाराष्ट्रमा ४२३ जना संक्रमित भएका छन् ।
दोस्रो धेरै संक्रमित तमिलनाडुमा रहेका छन् । जहाँ ४११ जना संक्रमित भेटिएका छन् । त्यसैगरी, दिल्लीमा ३८६ जना, केरलामा २९५ जना, राजस्थानमा १७९ जना र उत्तर प्रदेशमा १७४ जना संक्रमित भेटिएका छन् ।
अन्य प्रदेशमा पनि संक्रमितहरु रहेका भएपनि अहिलेसम्म त्यहाँको संक्रमित संख्या न्यून रहेको छ ।
प्रतिक्रिया