काठमाडौं । जर्मनीको हेस्से प्रान्तका अर्थमन्त्री थोमस साइफरले आत्महत्या गरेका छन् । उनले शनिबार आत्महत्या गरेका हुन् ।
युरोपलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न संकटका कारण साइफरले आत्महत्या गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ५४ वर्षीय साइफर जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टीका वरिष्ठ नेता थिए ।
हेस्से प्रान्तमा दुई दशकदेखि राजनीतिमा सक्रिय रहेका उनी करिब १० वर्षदेखि प्रान्तका अर्थमन्त्रीका रुपमा काम गर्दै आएका थिए । कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए ।
उनको शव रेलको लिकमा भेटिएको थियो । उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । जर्मनीमा कोरोना भाइरसबाट ४ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ भने ५५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
प्रतिक्रिया