काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य तरलता अनुपात (सीआरआर) घटाएको छ ।
केन्द्रीय बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा समस्या पर्न थालेपछि सीआरआर घटाएको हो भने बैंकलाई दिने कर्जाको व्याजदर (बैंक दर) ५ प्रतिशत बनाएको हो । आइतबार साँझ निर्देशन जारी गर्दै राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सीआरआर) १ प्रतिशतले घटाएर ३ प्रतिशत बनाएको हो । यसअघि सीआरआर ४ प्रतिशत थियो ।
केन्द्रीय बैंकले बैंकहरूलाई उपलब्ध गराउने कर्जाको ब्याजदर घटाएर ५ प्रतिशतमा झारेको छ । यसअघि ६ प्रतिशत थियो । अब बैंकहरूले तरलता अभाव भएमा केन्द्रिय बैंकबाट ५ प्रतिशतमा पैसा लिन पाउनेछन् ।
ब्याजदर करिडोरलाई पनि परिमार्जन गरेको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरेको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरेको छ ।
बैंकले स्थापना गरेको पुनर्कर्जा कोषको सीमा पनि बढाएर ६० अर्ब बनाएको छ । यसअघि यसअघि ५० अर्ब थियो । कोरोनाले प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकतामा राखेर पुनर्कर्जाको व्यवस्था गरिनेछ ।
प्रतिक्रिया