प्रलय, अर्थात् सर्वनाश । यद्यपि त्यसलाई कसैले देखेका छैनन्, तथापि त्यसका बारेमा भनेका सुनेर जानेकाले जे लेखेर गए, त्यही पढेका आधारमा मात्र त्यसको भयंकर स्वरुपका बारेमा वर्णन गरिएका हुन् । विश्वमा धेरै पटक प्रलय भइसकेको कथा हामीले अवश्य सुनेका छौं तर देख्नेले भनेको र लेखेको होइन, सुनेका भरमा लेखेर छाडेकाले प्रलयको लोमहर्षक कथा सुनेर हामी धेरै पटक रोमाञ्चित भएका छौ । तर हामी भाग्मानी भएर हो अथवा अभागी भएर हो, बाँचेको युगमा कोरोनाभाइरसको जुन महामारी फैलिएको छ, त्यसले प्रलय भनेको कस्तो हुँदो रहेछ, त्यो हाम्रै जीवनकालमा आफैंले देख्ने संभावना बढ्दै गएको छ, कदाचित त्यो देख्नु अगावै कालकवलित भएनौं भने !
सन् २०२० को नयाँवर्ष मनाउँदासम्म चीनको युहानमाबाहेक विश्वका कुनै भागका कोरोनाभाइरस भन्ने भयानक त्रासदीले पैदा गरेको प्रलयको नाममा इतिहासले यो वर्षलाई याद गर्ने छ भन्ने कसैले सोचेका थिएनन् । दुर्भाग्यवश, जसले त्यस्तो प्रलयको संभावनालाई आफ्नो अध्ययन, अनुसन्धान र असाधारण ज्ञानका आधारमा संसारलाई सचेत तुल्याउन त्यसको सूचना प्रक्षेपण गरेका थिए, उनलाई पुरस्कृत गर्नुको बदला उल्टो, चीनलाई बदनाम गर्न अफवाह फैलाएको आरोप लगाएर नियन्त्रणमा मात्र राखिएन, त्यही कोरोनाभाइरसबाट उनको मृत्यु भएको विडम्वनात्मक सूचना समेत सम्प्रेषित गरियो । कोरोनाभाइरस नामको खतरनाक महामारीले निकट भविष्यमै विश्वलाई आतंकित तुल्याउने भविष्यद्रष्टालाई मध्ययुगमा जस्तै अहिले पनि मृत्युवरण गर्न वाध्य नपारिएको भए, त्यसको रोकथामका लागि उपाय र औषधी पनि यतिन्जेल पत्ता लागिसक्ने थियो र त्यो आधुनिक विश्वलाई चीनको महान योगदान सावित हुने थियो । चीनको राजनीतिक व्यवस्थाको संकीर्ण चरित्रले त्यस्तो दुर्लभ अवसरबाट चीन बंचित मात्र भएन, सम्पूर्ण मानवजातिका लागि एउटा सुखद् भविष्य प्रदान गर्ने संभावनालाई असमयमै रोक्ने कलंकको टीकाचाहिँ उसको निधारमा लाग्नपुग्यो । उदार प्रजातन्त्र र मानवअधिकारको अभावमा मानवीय सेवा र कल्याणका पक्षमा भएका शोध र अनुसन्धान कसरी कुण्ठित हुन्छन् र त्यस्ता उपलब्धीका लाभबाट सम्पूर्ण मानवजाति कसरी बञ्चित हुनपुग्छन्, कोरोनाभाइरस–काण्ड त्यसको ज्वलन्त उदाहरण हुन पुगेको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको पछिल्लो जानकारी अनुसार १३२ देश, कोरोनाभाइरसबाट प्रभावित भइसकेका र थप केही देश पनि उच्चजोखिममा छन् । चीनको युहानलाई इपिसेन्टर तुल्याएर विस्फोट भएको त्यो वेगवान गतिमा संक्रमित हुने विनाशक भाइरसको अहिलेसम्म कुनै प्रकारको उपचारको भ्याक्सिन पत्ता लाग्न सकेको छैन । औषधोपचारका अभावमा त्यो रोग कति विनाशक हुन पुगेको छ, त्यसको फैलावटको आकारले प्रष्ट पारिरहेछ । डा.ली वेनलियाङ, जसले कोरोनाभाइरसले उत्पन्न गर्ने संकटको गम्भीरतालाई उजागर गरेका थिए, उनले सुझाएका तर सार्वजनिक नगरिएका उपचारविधिको हालै विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले अनुसन्धान थालेको जनाएको छ । त्यसमध्ये केही यस्ता उपचारविधिमाथि डा.लीले अनुसन्धान गरेर सिफारिस गर्न ठिक्क पारेका थिए, जसको अहिले सबैभन्दा बढी खाँचो अनुभव गरिएको छ । उनका विभिन्न अनुसन्धानमध्ये सिटी स्क्यानका माध्यमबाट गरिने उपचारविधिलाई डब्लुएचओका विशेषज्ञहरुले सराहना मात्र गरेका छैनन्, त्यसले रामवाणको काम गर्ने अनुमान गरेर थप अनुसन्धान प्रक्रियालाई त्यही दिशामा अघिबढाइरहेका छन् । त्यही पदचिन्हमा अघिबढेको विशेषज्ञ टोलीका सदस्यहरु कोरोनाभाइरसमाथि नियन्त्रण पाइनहाले पनि रोकथाम गर्ने उपचारविधि पत्ता लगाउन सफल हुने विश्वास व्यक्त गर्न थालेका छन् । उता चीनले पनि त्यसको उपचारविधिको विकास गर्न ठूलो अनुसन्धान टोली परिचालन गरेको जनाएको छ । केही महिनाभित्रै त्यसमा सफलता पाउने चिनियाँ अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संघलेभन्दा अगाडि कोरोनाभाइरसविरुद्धको खोप पत्ता लगाउन चीनले प्रयास जारी राखेको छ । त्यसका लागि उनीहरुका विशिष्ट चिकित्सक तथा अनुसन्धानकर्ताहरु दिनरात जुटिरहेको बताइएको छ ।
अहिलेसम्मको अनुसन्धानबाट कोरोनाभाइरस सबैभन्दा छिटो सर्ने अर्थात् संक्रमण हुने खतरनाक रोग हो भन्ने प्रमाणित भइसके पनि त्यो रोग कुन माध्यमबाट अर्को व्यक्तिमा संक्रमण हुन्छ भन्ने बारेमा भने चिकित्सकहरु एक मत हुन सकेका छैनन् । पहिले उनीहरु पीडित व्यक्तिको सासबाट संक्रमण हुने भएकाले रोगीको उपचारमा संलग्न चिकित्सक, सहयोगी तथा भेटघाट गर्न आउनेहरुलाई मास्क अनिवार्य लगाउन सल्लाह दिन्थे । तर अहिलेसम्मका अनुभवले मास्कलाई भाइरस रोक्ने मात्र होइन, रोग सार्ने माध्यम पनि हुने निष्कर्ष निकालेर उनीहरु जथाभावी मास्क प्रयोग नगर्न चेतावनी दिन थालिएका छन् । त्यस्तै सावुन पानीले हातमुख धुने सल्लाह पनि पुरानो र अपर्याप्त भएको निष्कर्ष निकालिएको छ, किनभने युरोप र अमेरिकामा धेरै पहिलेदेखि सावुनपानीले हात धुने चलन चलिआएको हो ।
तर त्यहाँ पनि कोरोनाभाइरसको महामारी तीव्र गतिमा फैलिएको र इटालीजस्तो देशमा चीनपछि धेरै मानिस मरेको रेकर्डले मास्क र साबुन पानी त्यसको रोकथामको उपाय हुन नसक्ने निष्कर्ष निकाल्न उनीहरु वाध्य भएका छन् । त्यसको अर्थ यो भएको छ कि अहिलेसम्म कोरोनाभाइरसको औषधी र इन्जेक्सन मात्र होइन, रोकथामको उपाय नै पत्ता लाग्न सकेको छैन । त्यसलाई निको पार्ने कुरा त अझ टाढाको विषय बनेकै छ । त्यही कारण अमेरिकाले त्यसका विरुद्ध लड्न ५० अर्ब डलरको राशी खर्च गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् भने युरोपेली संघ तथा त्यसबाट अलग हुन लागेको बेलायतले पनि त्यो महामारीसंग लड्न पर्याप्त रकम जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । एशियामा चीन, भारत, जापान, इरान, दक्षिण कोरिया आदिले पनि त्यो रोगको रोकथाम र उपचारका निम्ति यथेष्ट रकम उपलब्ध गराउने भएका छन् ।
चीनले त्यो महामारीको प्रकोपबाट आफ्नो देश मुक्त भइसकेको घोषित गरे पनि कोरोनाभाइरस जुन गतिमा विश्वभरि फैलिरहेको छ, त्यसका आधारमा वस्तुस्थितिको विश्लेषणगर्दा त्यो दावी विश्वसनीयभन्दा पनि त्यसमाथि नियन्त्रण पाउने अभियानमा लागेका सबैको मनोवल बढाउने र सरकारको साख जोगाउने प्रयास मात्र देखिन्छ । किनभने जुन रफ्तारमा त्यो रोग दुनियाँभरी फैलिरहेको छ, त्यो देख्दा, साँच्चै कोरोनाभाइरस सखाप भएको पत्याउन कोही तयार छैनन् । चिनियाँहरुले पनि सरकारी दावी पत्याएजस्तो देखिएको छैन । कहिलेकाहिँ नपत्याएको खोलाले बगाउँछ भन्ने नेपाली उखान चीनमा पुगेर सत्य सावित भयो भने बेग्लै कुरा हो, होइन भने त्यो छाडा साँढे नियन्त्रणमा आएको पत्याउन कोही तयार देखिएका छैनन् ।
कोरोनाभाइरस चीनबाट सर्दै गएर युरोपमा फैलिन पुगेकाले त्यसले हिजोभन्दा आज झन् बढी प्रचार पाएको छ । दक्षिण कोरिया, जापानबाट फड्केर इरान पुगेका त्यो रोगका भाइरसहरु मेडिटेरियन समुन्द्र पारगरेर इटाली पुगेपछि त्यही पलेँटी कसेर बसेजस्तो देखिएको छ । स्पेन, फ्रान्स, जर्मनी मात्र होइन, बेलायत पनि घुमघाम गरेर फेरि रोममै फर्केर ढलिमलि गरेर बसेको देखा परेको छ । त्यसका तुलनामा अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या कम भए पनि अमेरिकाले त्यो विश्वव्यापी महामारीसंग लड्न ५० अर्ब डलर खर्चगर्ने घोषणा गरिसकेको छ । त्यो भनेको नेपाली मुद्रामा आजको विनिमय दर अनुसार ५९ खर्ब ५० अर्ब हो ।
सारांशमा विश्व स्वास्थ्य संघका माध्यमबाट त्यो रोगको रोकथामका लागि हुने खर्च पनि सदस्य राष्ट्रहरुले नै व्यहोर्ने हुन् । त्यसमा अमेरिकाको अंशदान सबैभन्दा बढी हुनु स्वभाविकै हो । अमेरिकाले संकटकाल घोषणा गरेर त्यो प्रलय रोक्न अतिरिक्त रकमको घोषणा गरेको हो । अहिले अमेरिकाको अर्जुनदृष्टि, कोरोनाभाइरसको रोगीलाई तत्काल दिइने भ्याक्सिन र त्यसपछिको उपचारविधि पत्ता लगाउन र त्यसको विश्वव्यापी प्रचार प्रसार गर्न उपयोग गर्ने कार्यमा केन्द्रीत रहने बताइएको छ । अमेरिकाको त्यो घोषणाबाट मानवाधिकारप्रतिको उसको नेतृत्वको दावी अनुकूल भएको ठानिएको छ । नेतृत्वको दावी ठूलो कुरा होइन, त्यसको दायित्व उठाउन तयार हुनु महानताको श्रेणीमा पर्ने विषय हो । तसर्थ मानव जातिको हित र कल्याणका लागि अमेरिकाको अग्रसरता सबैका निम्ति सराहनीय बन्नपुगेको हो ।
प्रतिक्रिया