देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस अनुशासन समिति संकटमा

देशान्तर

 स्थानीय, प्रदेश र संघको निर्वाचन भएको अढाई वर्ष बितेको छ। निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गरी कारबाही गर्न कांग्रेसभित्र दुईवटा अनुशासन समिति गठन भइसके। स्थानीय तहको निर्वाचन लगत्तै असोज ७ गते केन्द्रीय सदस्य रमेश रिजालको नेतृत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन भयो। काम सुरु नगर्दै रिजालले समिति संयोजकबाट राजीनामा दिए।

अघिल्लो वर्ष चैत पहिलो साता केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भयो। समितिमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य छन्। समितिले देशभरबाट उजुरी संकलन गरी कारवाही अघि बढाउन नपाउँदै विवादित बनेको छ। समिति सदस्य चौधरीले सदस्यबाट राजीनामा दिएको पत्र नेता कृष्णबहादुर सिटौलालाई बुझाएका छन्। चौधरी नेता सिटौलाको सिफारिसमा सदस्य बनेका हुन्। उनले पार्टीलाई भने राजीनामा बुझाएका छैनन।

समितिमा देशभरबाट आएका तीन हजार उजुरीमध्ये समितिले करिब एक हजारसँग स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये ८ सय ५० जतिले जवाफ दिएका छन्। समितिको केही दिन अघि बसेको बैठकले कैलालीका नेता पुष्कर ओझा, नेपालगञ्जका महेन्द्र मल्ल, तनहुँका गोविन्दराज जोशी र डडेल्धुराका पार्टी कार्यालयसचिव रामबहादुर बिष्टलाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। ‘पहिलो चोटी पठाइएको जवाफ चित्त बुझ्दो नभएकाले दोस्रो पटक तीन दिनभित्र जवाफ पठाउन भनिएको छ’, पत्रमा भनिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले बुधबार इमेल मार्फत चारै जनालाई स्पष्टीकरण सोधेको हो। सदस्य चौधरीले समितिले गुटगत आधारमा कारबाही गर्न खोजेको भन्दै राजीनामा दिएका हुन्। समिति संयोजक आङ्दम्बेले भने चौधरीको राजीनामा बारे अनविज्ञता प्रकट गरेका छन्। समिति सदस्यबीच कुनै विवाद नरहेको उनले दाबी गरे। ‘हामीबीच अहिलेसम्म कुनै विवाद छैन, कार्यविधि अनुसार काम गरिरहेका छौं’, उनले भने, ‘उमाकान्तजीको राजीनामाबारे मलाई जानकारी छैन।’

चार जनालाई कारबाही गर्नेबारे शुक्रबार समितिको बैठक बोलाइएको थियो। तर कांग्रेस नेता एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधनका कारण बैठक केही दिन स्थगित भएको छ। कांग्रेसभित्र न्यायिक निकायका रूपमा चिनिने अनुशासन समिति सदस्य चौधरीको राजीनामा पछि अलमलमा परेको छ। पाँचजनाको सहमतिमा मात्र कारवाही गर्ने समितिको कार्यविधि छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको समझदारी अनुसार जोशी, मल्ल, ओझा र बिष्टलाई कारवाही गर्न समितिले दोस्रो पटक स्पष्टीकरण सोधेको हो। अन्नपूर्ण पाेस्टमा खबर छ ।