पहाडी क्षेत्रका विभिन्न भेगमा चितुवा आतंक बढिरहेका बेला पाटे बाघ पनि उच्च भागतिर बसाइँ सर्न थालेका छन् । राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल कम भएकाले बाघ उँभो चढेका हुन् ।
भुटानमा ४२ सय र भारतको उत्तराखण्डस्थित धार्चुलामा २९ सय मिटर उचाइमा भेटिएका बाघ नेपालमा पनि ८ सय मिटर उचाइसम्म उक्लिसकेका छन्। चुरे र दुन क्षेत्रका बस्तीमा यिनीहरू देखिन थालिसकेका छन्।
जलवायु परिवर्तनका कारण आहारमा आएको फेरबदलले बाघका आहार मृग प्रजाति र बँदेल उच्च भागतिर सर्दै गएकाले बाघ पनि माथि माथि उक्लन थालेको हो। सर्वेक्षणअनुसार नेपाल र भारतमा धेरैजसो बाघ तल्लो तटीय क्षेत्रको एक सयदेखि दुई सय मिटर उचाइमा छन्। पछिल्लो अध्ययनले नेपालमा २ सय ३५ र भारतमा २ हजार ९ सय ६७ बाघ देखाएको छ। दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए।
डब्लूडब्लूएफ नेपालका बाघविज्ञ कञ्चन थापाका अनुसार राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने नेपालमा पनि तल्लो क्षेत्रमा रहेका बाघ उच्च भागसम्मै जान सक्छन्। हालै भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको तथ्य सार्वजनिक भएको छ। उक्त बाघ नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको स्याटेलाइट रेडियो कलरको संकेतबाट थाहा भएको छ। यसबाट बाघले धेरै यात्रा गर्न सक्ने पुष्टि भएको छ। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया