कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ । यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ ।
बिदा मनाएर कुवेत फर्किएका आप्रवासी कामदार कोरोना संक्रमण नभएको प्रमाणपत्र लिनका लागि क्लिनिकमा तस्बिर : रोयटर्स
नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड-१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो। १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन्। कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन्।
अन्तर्राष्ट्रिय उडानहरु बन्द
कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिने भएको छ। कार्गोको उडान भने जारी रहनेछ। अन्तर्राष्ट्रिय उडान बन्दले कुवेतसँग हुने नेपाली कामदारको दुईतर्फी आवतजावत पनि बन्द भएको छ। अब वैदेशिक रोजगार विभागबाट कुवेत जानका लागि श्रम स्वीकृति पाइसकेका कामदार अर्को सूचना नआएसम्म कुवेत जान पाउने छैनन्।
कुवेतको मन्त्रिपरिषद्ले रेस्टुरेन्ट र क्याफेमा भेला हुन र ठूला व्यापारिक केन्द्र (मल)को वरिपरि भेला हुनको लागि रोक लगाएको छ। ठूला खाद्यान्य पाउने मल र साना पसल (वकला) हरु भने बन्द गरिएको छैन। बैंकहरु बन्द गरिएको छ। हरेक गभर्नर क्षेत्रमा भने एउटा मात्रै बैंक खोल्न पाइने छ। एटीएमहरु भने खुल्ला रहनेछ। सरकारले यसलाई कर्फ्यु रुपमा नबुझ्न सबैलाई अनुरोध गरेको छ। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया