देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुकेनाश रोगबाट पीडित कांग्रेसको पीडा

देशान्तर

“आफ्नी श्रीमती मन परेकी छैन भनेर गुनासो गरिरहनु र पारपाचुके दिएर अलग बस्नुभन्दा सहवासमा नजानु राम्रो हो ।” अंग्रेजी भाषाको त्यो कथन, नेपाली राजनीतिका दुई प्रमुख खेलाडी नेपाली कांग्रेसका सन्दर्भमा मात्र होइन, नेपाल कम्युनिस्ट पार्टीमाथि पनि शतप्रतिशत लागू हुन्छ । जगजाहेर छ, ती दुवै पार्टीभित्र नेताहरू एकआपसमा भयानक मतभेद राख्छन् र सार्वजनिक रूपमै गाँड कोराकोर गर्न पनि छाड्दैनन् । त्यसबाट उनीहरूलाई त मानसिक सन्तुष्टि मिल्दो हो, तर उनीहरूका कार्यकर्ता र आमजनतालाई प्रताडना र असन्तोष बढ्न पुग्छ, जसले गर्दा दल, देश र जनता सबैलाई नोक्सान पुग्नु स्वाभाविक हो ।

कांग्रेसका नेताहरूका बीचमा आदर्श र सिद्धान्तमा विवाद छैन, झन्डामा विवाद छैन र मास पार्टी भइकन पनि कम्युनिस्टको जस्तो क्याडर पार्टीको मोडेल अपनाउन पुगेको विधानमा पनि विवाद छैन, तैपनि उनीहरूको आपस्तमा मेल र एकता छैन । त्यसका नेताहरू प्रजातान्त्रिक दलमा अनेकतामा एकता हुनुपर्छ भन्न पनि छाड्दैनन् तर अनुसरण भने पटक्कै गर्दैनन् । विडम्बना पनि कस्तो भने उनीहरू अर्कालाई जुन आरोप लगाउँछन्, व्यवहारमा त्यही अपनाइरहेका हुन्छन् । परिणाम यो देखिने गरेको छ, उनीहरूका विचार र दृष्टिकोणमा मेल खाँदैन, त्यसैले जे भन्छन् त्यो गर्दैनन्, जे गर्छन्, त्यो भन्दैनन् ।

कांग्रेसभित्र सिद्धान्त र व्यवहारमा जुन विरोधाभाष देखिएको छ, कम्युनिस्ट पार्टीमा पनि त्यही रोग र प्रवृत्ति प्रष्ट देख्न सकिन्छ । फरक कति भने कम्युनिस्ट पार्टीमा अनेक प्रकारका विकृति र विसंगतिका बाबजुद पार्टीको निर्णय मान्ने चलनमा विचलन आएको छैन, कांग्रेसमा त्यस्तो संस्कार र संस्कृतिमा ठूलो ह्रास आएकाले निर्णय प्रक्रियामा माछा देखे दुलामा हात, सर्प देखे दुला बाहिर, भन्ने उखान त लागू भएकै छ । निर्णयमा सहीछाप गरेको मसी सुक्न नपाउँदै विरोध गरेर हिँड्न लाज नमान्ने प्रवृत्ति पनि प्रोत्साहित भइरहेको देख्दा ….लाई भन्दा देख्नेलाई लाज भन्ने अर्को उखान पनि उनीहरूमाथि नै लागू हुन पुगेको छ । कांग्रेसका सभापति माथि कुन विषयमा कसरी बोल्ने त्यसको हेक्का नराख्ने, प्याच्च बोल्ने, अनि त्यसको नकारात्मक प्रतिक्रिया उत्पन्न हुँदा रिसाएर उत्तेजित हुने जुन आरोप छ, त्यो असत्य होइन । सबैले देखे, जानेकै कुरा हो । ठूलो पार्टीका ठूला नेताले हैसियतको विचार गरेर मात्र होइन, होस पनि पुर्‍याएर बोल्नु पर्नेमा विद्यमान अवस्था कति लाजमर्दो छ, त्यसमाथि प्रकाश पारिरहन आवश्यक छैन । तर त्यसको अर्को पाटो कस्तो छ, त्यो केलाएर हेर्ने खाँचोबोध कसैले गरेका छन् ? छैनन् ! किन ?

किनभने उनीहरू सबै, अरबी भाषाको त्यो लोककथाका पात्र हुन्, जो बहुपति वरण गरेको आरोपमा सार्वजनिक सुनवाइको दण्ड भोग्न अभिशप्त एक लाचार महिलामाथि चौबाटोमा जम्मा भएर ढुंगा बर्साइरहेको भीडमा जो आउँथ्यो, त्यो पनि त्यसैमा सामेल भएर ढुंगा हान्न उक्साउने गर्दथ्यो । मुस्लिम धर्ममा त्यस्तो अपराध गर्ने महिलामाथि ढुंगा हानेर दण्डदिने विधान भएको दुहाइ दिएर उनीहरू त्यस प्रकारको अत्याचारबाट मनोरञ्जन प्राप्त गरिरहेका थिए । संयोगले त्यही बाटो भएर गुज्रिरहेका प्रोफेट महमदले त्यो दृश्य देखे र कारण सोधे । उनले सबै कुरा बुझेपछि सजायको त्यो तरिकाको समर्थन गरे र एउटा सर्त राखे, तिनले मात्र ढुंगा हान्न पाउँछ, जसले बहुपत्नी राखेको छैन । बहुपत्नी राख्नेले बहुपति राखेको आरोपमा ढुंगा हान्यो भने कालान्तरमा जुन हातले ढुंगा हानेको हो, त्यो हात झर्छ । त्यो सुन्नेबित्तिकै ढुंगा उठाएर हान्न तम्सेकाहरू एकएकगरी सुँइकुच्चा ठोक्न थालेका थिए । कांग्रेसका विद्रोही कहलाउन लालायित नेताहरू पनि जसरी पार्टीका मर्यादाका सीमारेखा र अनुशासनका पर्खालहरू ध्वस्त पार्न उद्यत् छन्, उनीहरूले पनि त्यसको मूल्य कालान्तरमा अवश्य चुकाउनु पर्नेछ, जुन अहिले बिर्सेका छन् ।

कांग्रेसमा हिजोआज संस्कार र संस्कृतिको अनिकालको कारण आफ्ना गौरवपूर्ण पुर्खाको समृद्ध परम्परालाई पछ्याउन छाडेर उत्तिबेलाका विकृति र विसंगतिलाई सर्लक्क अपनाउन खोजेकाले विकसित र विस्तारित भएको हो । नेपाली कांग्रेसको इतिहासमा विभाजन र विखण्डनका पीडादायी अनुभव नभएका होइनन् । यद्यपि कांग्रेसको निर्माण, अशिक्षा, गरिबी र पिछडापनको घोर अन्धकार युगमा भएको थियो । त्यस्तो अन्धकारमा पनि उज्यालो आलोकको अवलोकन गर्ने दुर्लभ अवसर प्राप्त गरेकाका थोरै भाग्यमानी नेपालीबाट धेरैको उद्धारको पवित्र उद्देश्यले स्थापना भएको थियो, जो त्यस्तो अवस्थामा पनि सचेत र सजग थिए । उनीहरू आधुनिक युगचेता मात्र थिएनन्, युग परिवर्तन गरिछाड्ने प्रबल इच्छाशक्ति र संकल्पका धनी पनि थिए । निष्ठुर नियतिले उनीहरूमा त्यस्तो सचेतता र सजगता मात्र प्रदान गरेको थिएन, ईष्र्या र लोभजस्ता नकारात्मक प्रवृत्ति पनि प्रदान गरेको थियो । त्यसैले निरंकुश एकतन्त्री राणाशासनको अन्त्यका लागि खडा भएको कांग्रेसले राम्ररी उभिएर ठमठमी हिँड्न र लम्किन पाएको थिएन, टुट्ने र फुट्ने रोगबाट पीडित हुनु परेको थियो । त्यसको नकारात्मक प्रभावबाट कांग्रेस अझै मुक्त हुन सकेको छैन । त्यही गलत संस्कार र संस्कृतिको प्रत्यक्ष वा परोक्ष असरबाट कांग्रेसमा कहिले मुर्छिन र कहिले जागरित हुने रोग निको हुन सकेको छैन ।

प्रजातन्त्रको आधारभूत मान्यता भनेकै बहुमतको निर्णय लागू हुने विश्वव्यापी पद्धति हो । त्यस्तो सर्वमान्य सिद्धान्तमाथि खेलवाड गर्ने प्रयासले कांग्रेसभित्रको अल्पमतको प्रजातन्त्रको दुहाई हास्यासपद बन्न पुग्छ । निःसन्देह अल्पमतको गला घोट्नु पनि प्रजातन्त्र होइन । अल्पमतको सम्मान र सुरक्षा हरहालमा हुनै पर्छ । जबसम्म बहुमतको पालना र अल्पमतको सम्मानको संस्कार र संस्कृतिलाई जीवन पद्धतिका रूपमा अपनाउन सकिन्न, पार्टी जतिसुकै ठूलो र शक्तिशाली भए पनि दीर्घजीवी हुन सक्तैन भन्ने उदाहरण पनि कांग्रेस नै हो । उसको लामो र गौरवशाली इतिहासमा त्यस्ता अनेक अपवाद पनि गाँसिएर आएका छन्, जसलाई नकार्न सकिन्न र सकारेर अनुसरण गर्न पनि सकिन्न । दुवै पक्षले त्यसलाई स्मृतिमा राखेर व्यावहारिक राजनीतिलाई थप क्रियाशील तथा आकर्षक तुल्याउनु पर्ने थियो, दुर्भाग्यले त्यही हुन सकेको छैन । त्यसैले कांग्रेस, बाहिर बलियो देखिए पनि भित्र खोक्रो र सुकेनाशको रोगले ग्रस्त भइसकेको छ । बेलैमा उपचार नपाए अझ कमजोर हुनेमा शंका गर्नु पर्दैन ।

कांग्रेसको वर्तमान समयको सबैभन्दा ठूलो कमजोरी हो, अध्ययन, अनुसन्धान र विश्लेषणको नितान्त अभाव । इतिहासको कमाइखानेबाहेक अहिले कांग्रेसलाई थाम्ने कुनै तत्व छ भने त्यो हो, मनी र मसल । त्यसका लागि जग्गा दलाल, ठेकेदार, म्यानपावरका तस्कर र विदेशी एजेन्टमाथि दुवैथरी नेताले भर पर्नु परेको छ । कोही चोखा छैनन् । कोही विचार र आदर्शबाट प्रेरित र सञ्चालित छैनन् । हुँदाहुँदा अब आदर्श र सिद्धान्तका विषय उठाउन छाडेर कांग्रेसका नेताहरू सरकारका कामको प्रतिक्रियामा आफूलाई सीमित तुल्याएर प्रतिक्रियावादीको तक्मा भिर्न पाउकोमा गर्व गर्ने स्थितिमा पुगेका छन् ।

नेकपाका केन्द्र र स्थानीय निकायका सरकारले भ्रष्टाचारमा आजसम्मका सम्पूर्ण रेकर्ड तोडेका छन् । वर्तमान योजना आयोगका एकजना सदस्य, जो विद्यावारिधि धारण गरेका व्यक्ति पनि हुन्, उनले रेडियो नेपालको बिहानको समाचारभन्दा अगाडि प्रसारित हुने संवाद कार्यक्रममा भनेका थिए– प्रतिबद्धता थियो, सिंहदरवारको अधिकार गाउँमा पुर्‍याउने । त्यो त पुग्यो कि पुगेन, भन्न सक्तिनँ तर भ्रष्टाचार भने अवश्य पुगेको छ । हिजो सिंहदरवारबाट हुने गरेको भ्रष्टाचार अब नगर र गाउँपालिकाबाट हुन थालेको छ । योजना बनाउने, बजेट छुट्ट्याउने, त्यसको कार्यान्वयन गर्ने एउटै निकाय भएपछि त्यसको भ्रष्टाचारलाई नियन्त्रण गर्ने कसले ? त्यही कारण नगरपालिका र गाउँपालिकाका प्रमुख मात्र होइनन्, वडाध्यक्ष पनि डोजर, ट्रिपर र ट्र्याक्टरका मालिक भएका छन् । भुक्तानी दिने र लिने उनै भएपछि भ्रष्टाचार गर्न रोक्ने र छेक्ने कसले ? अहिले आदिकवि भानुभक्त आचार्य हुन्थे भने उनले नेपालको लोकतन्त्रको चित्रण यसरी गर्ने थिए, “छ त अन्त कतै भ्रष्टाचार यसरी, अलकापुरी कान्तिपुरी नगरी !”

त्यही भ्रष्टाचारको विरोध, देशव्यापी आन्दोलनको आधार बन्न सक्थ्यो । प्रत्येक मतदाताले देखेको र अनुभव गरेको भ्रष्टाचारको अध्ययन, विश्लेषण र संश्लेषण गरेर त्यसका विरुद्ध जेहाद छेडेका खण्डमा अर्को चुनाव जित्नबाट कांग्रेसलाई कसैले रोक्न सक्ने थिएन । तर कांग्रेस त आफैंभित्रको लडाइँमा व्यस्त छ, विरोधीको विरोध गर्ने फुर्सद कहाँ हुनु ?