देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मास्क कोलोबजारी गर्नेमाथि कारबाही

देशान्तर

काठमाडौं । सरकारले मास्क कालोबजारी गर्ने औषधि व्यवसायीमाथि कारबाही थालेको छ । मौकाको फाइदा उठाउने उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना असुल्न थालेको हो ।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन् । कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन् । व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ ।

विभागको टोलीले बिहीबार राजधानीका महाबैद्ध र क्षेत्रपाटीमा सातवटा पसलबाट चार लाख ३० हजार जरिवाना गराएको छ ।विभागको महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्याण्ड स्यानिटाइजरको कालोबजारी बढेको बताए ।

टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक फार्मेसीसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ । क्षेत्रपाटीको दीप सर्जिकलले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो । पसलको गोदाममा हेर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो ।

विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।