देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले बेलायतका नेपाली व्यवसायीबाट सिक्ने कि ?

देशान्तर

लण्डन । नेपालमा प्रधानमन्त्रिले हेलिकप्टर चार्टर गरी देशको नक्शा भएको केक काटेकोमा आलोचना भैरहेको बेलामा बेलायतमा एकजना युबा ब्यबसायीले एक सकारात्मक एबम प्रशंसनीय काम गरेका छन् ।

नेपालमा चितवन जिल्लामा जन्मेका र हाल बेलायतमा ब्यबसाय गरिरहेका विष्णु खरेलले आफ्नो रेष्टुरेन्टमा च्यारिटी साँझ आयोजना गरी चितवन एड ट्रस्ट ( क्याट) यूकेलाई सहयोग गरेका छन् । आफ्नो छोराको जन्मदिनकै दिन पारेर बेलायतको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा आयोजित एक च्यारिटी कार्यक्रमबाट संकलित १६ सय ९० पाउण्ड (करिब २ लाख ५० हजार रुपिया) क्याट यूकेलाई प्रदान गरे ।

उक्त संकलित रकम रेष्टुरेन्टका सञ्चालक समेत रहेका खरेलले कार्यक्रमको अन्त्यमा क्याट यूकेका आजिबन सदस्यसमेत रहेका एनआरएनए अभियन्ता एवम् समाजसेवी शेर सुनारलाइ समेत राखी क्याट युकेका अध्यक्ष जीवन सेनलाई हस्तान्तरण गरेका थिए ।

‘आफ्नो व्यवसायको तर्फबाट सामाजिक क्षेत्रमा पनि सकेको सहयोग गरौं भन्ने मेरो पहिलेदेखिकै चाहना हो’, खरेलले भने, ‘क्याट यूकेले मेरो गृहजिल्ला चितवनमा गर्दै आएका कल्याणकारी कामहरुबाट म प्रभावित थिएँ र त्यसैले मेरो तर्फबाट संस्थालाई हौसलास्वरुप यो सानो सहयोगको योजना बनाएको हुँ ।’ नेपाली समाजमा दिइने सहयोगको यो निरन्तरता मात्रै हो भन्दै खरेलले आगन्तुक सबैलाई धन्यबाद समेत दिए ।

त्यसअवसरमा क्याट यूके अध्यक्ष सेनले सहयोगका लागि बेलिफ परिवार,सञ्चालक खरेल र उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । क्याट यूकेले नेपालमा शिक्षा, स्वास्थ्य, दैविप्रकोप लगायतका क्षेत्रमा काम गर्दै आएको जानकारी उनले दिएका थिए ।

उक्त च्यारिटी साँझमा सहभागी स्थानीय ब्रिटिश तथा रेष्टुरेन्टका ग्राहकहरुले बेलिफ रेष्टुरेन्ट र सञ्चालक खरेलले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगबाट आफुहरुलाई गौरव लाग्ने गरेको भन्दै प्रशंशा गरेका थिए । कोषका लागि च्यारिटी साँझका सहभागीहरुबाट सहयोग रकम संकलन गरिएको थियो । नेपाली मौलिकता देखिने खुकुरी, चित्रकला लगायतका विभिन्न सामग्रीको अक्सन र राफल ड्रबाट समेत कोष जुटाइएको थियो । स्थानीय ब्रिटिशहरुले रेष्टुरेन्टले प्रदान गरेको मौलिक नेपाली परिकारहरुको स्वाद खुबै रुचाएको बताए ।

कार्यक्रममा एनआरएनए अभियन्ता एवम् समाजसेवी शेर सुनार, सिर्जनशिल समाजका अध्यक्ष भक्त दर्जीसहित बेलायतस्थित नेपाली पत्रकारहरुको सहभागिता थियो ।

खरेलले केहि महिनाअघि आफ्नी छोरीको जन्मदिनमा समेत विपन्न परिवारका विद्यार्थीलाई ५० हजार रुपियाको छात्रवृत्ति सहयोग गरेका थिए । गत वर्ष पनि उनले बुद्ध फाउण्डेसन यूकेको सहयोगार्थ रेष्टुरेन्टमै च्यारिटी कार्यक्रम गरी आर्थिक सहयोग जुटाइदिएका थिए । एन आर एन युकेको गत निर्वाचनमा सचिबमा पराजित भएता पनि खरेलले च्यारिटी लगायत समाजसेवालाइ भने निरन्तरता दिई रहेका छन् ।