देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साइबर अपराधमा महिला बढी

देशान्तर

साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिमसम्म)मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको हो ।

सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुरमा संलग्न रहेको पाइएको छ । उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् ।

यस्तै, भाइबरमार्फत ५, इमोमार्फत २, युट्युबमार्फत ४ र ट्वीटरसँग सम्बन्धित ३, इन्सटाग्रामसँग सम्बन्धित ७ र अन्य माध्यममार्फत १८ कसुर भएको ब्युरोको तथ्यांकले देखाएको छ ।

साइबर ब्युरोका उपनिर्देशक एसपी अजय केसीले सामाजिक सञ्जाल प्रयोग गर्दै जाँदा रिस तथा आवेशमा व्यक्ति अपराधजन्य गतिविधिमा संलग्न हुने क्रम बढेको बताए । ‘कतिपय घटनामा चिनजानका व्यक्तिसमेत संलग्न छन्, कतिपयमा नचिनेका व्यक्तिले पनि सामाजिक सञ्जाल प्रयोग गरेर अपराधजन्य गतिविधि गरिरहेको पाइएको छ,’ एसपी केसीले भने । राजधानी दैनिकमा खबर छ।