देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व ?

देशान्तर

 नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको दुई वर्षमा पनि संगठन सुदृढीकरणभन्दा आन्तरिक राजनीतिमै कांग्रेसका नेताहरूको ध्यान केन्द्रित बन्न पुगेको छ। त्यसमा पनि महाधिवेशनको मितिसँगै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि सबै तहका नेताहरूको ध्यान नेतृत्वमा पुग्न केन्द्रित भएको छ। गुट–उपगुटमा विभक्त कांग्रेसमा केन्द्रदेखि गाउँसम्म ध्रुवीकरण सुरु भएको छ।

नीतिभन्दा नेता केन्द्रित कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा आमूल परिवर्तन गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ भने दोस्रो पुस्ताले पनि नेतृत्वका लागि आफूलाई फरक ढंगले प्रस्तुत गर्न नसकेको गुनासो पनि उत्तिकै छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगको प्रतिस्पर्धा दाइ पुस्ता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) बाट सम्भव नभएको भन्दै मीनेन्द्र रिजाल, गगनकुमार थापासहितले अघिल्लो पुस्ताले सम्मानजनक तर स्वेच्छिक अवकाश लिनुपर्ने बताउँदै आएका छन्। १३औं महाधिवेशनमा नेतृत्वका लागि आमनेसामने भएका देउवा र पौडेलले आगामी महाधिवेशनबाट विश्राम लेलान् त ? कांग्रेसका धेरै नेताहरूको बुझाइ त्यस्तो छैन। बरु अस्वाभाविक परिस्थितिबाहेक आगामी महाधिवेशनमा पनि नेतृत्वका लागि उनीहरू दुईबीच नै मुख्य प्रतिस्पर्धा हुन सक्ने विश्लेषण छ। आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा नउत्रन निकटहरूले सुझाए पनि नेतृत्वमा टिकिराख्न र नेतृत्वमा पुग्न देउवा र पौडेल दुवैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो सक्रियता बढाएको नेताहरू बताउँछन्।

केन्द्रीय सदस्य मीन विश्वकर्माले वर्तमान सभापतिसमेत रहेका देउवाले १४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताए। देउवा सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै उनले भने, ‘देउवा भर्सेज को भन्ने टुंगो लाग्न बाँकी छ।’ संस्थापन इतर समूहले देउवालाई सामूहिकता देखाएर तर्साउने गरे पनि नेतृत्वका लागि आआफ्नो तयारीमा जुटिरहेजस्तो देखिएको भन्दै उनले थपे, ‘उहाँहरू व्यक्तिगत वा सामूहिक फाइट गर्ने भन्नेमा टुंगोमा पुग्नुभएको छैन।’

अहिलेको चुनौतीको सामना गर्न टेस्टेड नेताहरूबाट सम्भव छैन भन्ने आवाज पार्टीभित्र बलियो रूपमा उठे पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलको विकल्प नदेखिएको विकको विश्लेषण छ। दुई नेताबाट नयाँ केही हुने नदेखिएको बताउँदै उनले थपे, ‘तर नयाँ पनि कोही पार्टी र मुलुक सञ्चालन गर्ने भिजन, मिसनसहित नआएकाले १४औं महाधिवेशनबाट पनि नेतृत्व परम्परागत तरिकाले नै अघि बढ्नेछ।’

वंशजलाई आधार बनाएर तथा आन्तरिक झगडाको फाइदा उठाएर मात्र पार्टी नेतृत्वमा पुग्न खोजिएको उनको बुझाइ छ। पार्टी विधानले सभापतिसहित १३ जना पदाधिकारी रहने व्यवस्था गरेको अवस्थामा १४औं महाधिवेशनबाट पार्टी नेतृत्व मिश्रित किसिमको आउने उनको बुझाइ छ। ‘विधानको व्यवस्थाले सभापतिले मात्र पार्टी हाँक्ने अवस्था छैन, पार्टी सामूहिक नेतृत्वमा अघि बढ्छ,’ उनले भने, ‘त्यसैले पुस्तागत अन्तराल होइन, मिश्रण गरेर जानुपर्छ।’ नागरिक दैनिकमा खबर छ।