देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजको कांग्रेस र राष्ट्रवाद

देशान्तर

नेपाली कांग्रेसको इतिहास हेरेर अहिलेको पार्टीको अवस्थासँग तुलना गर्ने हो भने साह्रै दयनीय देखिन्छ । नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको यस्तो टिठलाग्दो अवस्था कुनै बेला पनि थिएन । कांग्रेस नेपाली जनताको आशाको केन्द्र थियो, विश्वास थियो । पछिल्लो समयमा कांग्रेसप्रति जनताको विश्वास डगमगाउँदै गएको गत चुनावले देखाइसकेको छ । कम्युनिस्ट सरकारले भ्रष्टाचार, बलात्कार र अन्य विभिन्न जघन्य अपराधहरूलाई प्रोत्साहन दिँदादिँदै पनि केही समयअघि सम्पन्न उपनिर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न सकेन । यस पछाडिको कारण भनेको जनताको असन्तुष्टि नै हो भन्ने बुझ्न कठिन छैन । नेपाली कांग्रेसको अवस्था किन दयनीय बन्यो ? यो यक्ष प्रश्नको खोजी जारी छ र जति खोजे पनि कारण फेला पर्ने एउटै स्थान छ, त्यो हो वर्तमान नेतृत्व । वर्तमान नेतृत्वको अदूरदर्शिता र अक्षमताले नै कांग्रेसको यो हविगत भएकोमा दुई मत छैन । आफ्नो नेतृत्वमा भएको असफलतालाई स्विकार गर्न नसक्ने र विधान मिचेर भए पनि पार्टीलाई आफ्नो अनुकूल पार्ने दृष्टिकोण राख्ने सभापतिबाट पार्टीमा सुधार आउँला भन्ने अपेक्षा राख्नु निरर्थक देखिन्छ । जनताको मन जित्न र मनोबल बढाउन प्रतिपक्ष पार्टीले सरकारले गरेका अनियमितता र भ्रष्टाचारको घोर विरोध गरी संसद्मा ठूलो हल्ला मच्चाउनुपर्ने अवस्थामा सरकारसँग मिलेमितो गरी अगाडि बढ्न थालेपछि जनताले विश्वास कसरी गर्ने ?

वाइडबडी र यती होल्डिङ्सजस्ता जघन्य भ्रष्टाचारका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम मुछिएको मिडियामा उहिले पनि उल्लेख भएको थियो, जुन अब सत्य लाग्न थाल्यो । व्यक्तिगत स्वार्थ र आर्थिक दृष्टिकोणले हेर्ने हो भने देउवामाथि विश्वास गर्न सकिँदैन । प्रतिपक्षीको रूपमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्नुको पछाडि नेतृत्वको विरोधाभाषपूर्ण गतिविधि प्रमुख कारण रहेको छ । कम्युनिस्टसँग मिलेर देउवा आफ्नो अपराध लुकाउने र आफ्नो स्वार्थ पूरा गर्नतर्फ मात्र लागेको प्रतीत हुन्छ । त्यसैले कांग्रेसीहरूले पार्टीको आगामी नेतृत्वको लागि गम्भीर विचार गर्नुपर्ने बेला आएको छ ।

आफ्नो मात्र स्वार्थको लागि प्रचण्डको छोरीलाई मेयरमा जिताउन आफूसहित कार्यकर्ता खटाउनु, प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका ननिभाउनु, कम्युनिस्ट सरकारसँग मिलेमतो गरी उनीहरूले गरेको अपराधप्रति खास चासो नदिनुजस्ता कारणहरूले कांग्रेस नेतृत्वप्रति कार्यकर्ता र जनता सशंकित छन् । नेपाली कांग्रेसका सभापति भएदेखि अहिलेसम्म देउवाले गरेका क्रियाकलापहरूलाई केलाएर हेर्दा उनले आफ्नो नैतिकता गुमाई पार्टीको गरिमामा पनि ठूलो चोट पुर्‍याएको देखिन्छ । सभापति देउवाको यस्तो प्रवृत्तिको उनकै खेमाका नेताहरू पनि विरोध गरिरहेका छन् । कांग्रेस नेता प्रदीप गिरी सभापतिले नैतिक बल गुमाइसकेको सार्वजनिक रूपमै बताउने गर्छन् । यसले गर्दा वाइडबडी र यती होल्डिङ्सजस्ता जघन्य भ्रष्टाचारका मुद्दामा प्रतिपक्षको आवाज कमजोर हुन पुग्यो । प्रतिपक्षले कडा विरोध गर्न नसक्दा सरकार यस्ता क्रियाकलापमा झन् हौसिँदै गएको छ । सरकारविरुद्ध प्रतिपक्षी आवाज बलियो ढंगले उठ्यो भने त्यसका बाछिटा कांग्रेस नेतृत्वसम्म परिहाल्छ । जसको उदहारणस्वरूप वाइडबडी, बालुवाटार र यती होल्डिङ्स प्रकरणलाई लिन सकिन्छ ।

बीपीका अनुयायी
बहुमतको नाममा सभापति शेरबहादुर देउवाले विधान उल्लंघन गरेको आरोप लगाइरहँदा विधान उल्लंघन हुनुहुन्न भन्ने टिमका नेताहरू पनि विधान विपरीत भागबन्डामा सहभागी भएको देखियो । भागबन्डा गलत हो भनेर पार्टीलाई विधानसम्मत ढंगले चलाउनुपर्छ भन्नेहरू भागबन्डा भएपछि चुप लागेका छन् । अर्थात् बीपीले भन्नु भएको हामी राजनीतिमा मन्त्री हुला, ठूलो व्यक्ति बनुला भनी आएको होइन (अर्थात् स्वार्थको लागि राजनीति गरेको होइन) भन्ने कुरा उहाँका अनुयायी हुँ भन्नेहरूले गलत साबित गरेका छन् । एकदुई पदाधिकारीका लागि सम्झौता गरेर विधान मिच्न तयार हुँदा एकातिर आफू अनुकूल भए यिनले पनि त विधान मिचेर सम्झौता गर्दा रहेछन् भन्ने सन्देश सर्वसाधारणमा गएको छ भने अर्कोतिर विधि र विधान खोज्ने नेता, कार्यकर्तालाई यसले निराश बनाएको छ ।

राष्ट्रियता र राष्ट्रवादी नेता

अहिले कतिपय राष्ट्रिय स्तरका नेपालका केन्द्रीय नेताहरू भारतीय छन् भने कतिपयले नेपाली नागरिकता लिए पनि उनीहरूका भारतमा जग्गाजÞमिन र सम्पत्तिहरू छन् । नेपालको राष्ट्रियतासम्बन्धी प्रश्न उठे उनीहरूले के गर्लान् भन्ने प्रश्नचिन्ह छ । सानो उदाहरण, भर्खरै नेपाल–भारतबीच भएको सीमा विवादमा खोइ त ती नेताहरूले मुख खोलेको ?

कांग्रेसले नेपाली जनताको विश्वास जित्न यी सबै कुराहरूमा ध्यान दिँदै नेपालको राष्ट्रिय अखण्डता जोगाउने प्रश्न इमानदारीपूर्वक उठाउनुको साथै वर्तमान सरकारसँग मिलेमतो गर्ने होइन कि कड़ा प्रतिपक्षीको रूपमा जनताले देख्ने गरी प्रकट हुन सक्नुपर्छ ।

सर्वसाधारण नेपाली जनाताको स्वार्थभन्दा आफ्नो स्वार्थ सर्वोपरि ठान्ने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, आफ्नो राजनीतिक स्वार्थ सोझो पार्न गुन्डा र डनहरू पाल्नेजस्ता नेताहरू राष्ट्रवादी कहिले पनि हुन सक्दैनन् । दौरा सुरुवाल र नेपाली टोपी लगाएर मात्र राष्ट्रवादी हुन सकिँदैन ।

गणतान्त्रिक देश नेपालको पहिलो उपराष्ट्रपतिले हिन्दीमा शपथग्रहण गरेका थिए । के ती नेता नेपालप्रति राष्ट्रवादी होलान् ? भारतले सीमा मिचेको कुरा आज मात्र उठेको होइन । रातारात नेपाली भूमी भारतमा गासिएर सीमा नगिच बस्ने नेपाली नागरिकले आफ्नो सर्वस्व गुमाएका छन् भने कतै आफ्नो राष्ट्रियता पनि गुमाएका छन् । यसको विरोधमा नेताहरू चुइँक्क बोलेका छैनन् । भर्खरै भएको कालापानी सीमा विवादको विषयलाई लिएर सरकार र विपक्षी दलहरूले खोइ के र कुन प्रक्रिया सुरु गरे ? राष्ट्रवादको नारा लगाएर दुई तिहाइ जित्ने सरकारको राष्ट्रवाद कहाँ छ ? विपक्षी दलको राष्ट्रवादिता कहाँ छ ?

बीपीको जीवनलाई नियालेर हेर्दा सारा जीवन देशको लागि, प्रजातन्त्र र समाजवादको लागि संघर्षित रह्यो । देश, काल, परिस्थिति बुझेर देशलाई प्रजातन्त्र र समाजवादमा लाने बीपीको जुन अठोट थियो त्यो भने उनको जीवनकालमा पूरा हुन सकेन । यसको संरक्षण र संवद्र्धन गर्ने काम बीपीका अनुयायी हुँ भन्नेहरूको हो । तर अहिलेका कुनै नेता बीपीले देखाएको बाटोमा हिँडेको देखिँदैन । बीपीले देखाएको बाटोमा हिँड्ने नेता नभएका होइनन् तर उनीहरूले अवसर पाइरहेका छैनन् । आउने समयमा बीपीले भने जस्तै गाउँमा नेपाल खोज्ने, प्रजातन्त्र, लोकतन्त्र र समाजवादलाई राम्ररी बुझेका सही राष्ट्रवादी नेताको खोज गरी कांग्रेसको नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ ।
(पौडेल, नेदरल्यान्डमा बस्छन् ।)