अंग्रेजी भाषामा एउटा कथन छ– अफेन्स इज दी बेस्ट पोलिसी आफ डिफेन्स । अर्थात् प्रत्याक्रण होइन, आक्रमण, प्रतिरक्षाको सर्वोत्तम उपाय हो । नेपाली भाषामा पनि प्रख्यात कथन छ, जसले हान्यो, उसले जान्यो । अंग्रेजी र नेपाली दुवै भाषाका भनाइमा सादृश्यता छ, त्यो हो, अर्काको आक्रमणलाई पर्खिने होइन, पहिले आफूले आक्रमण गर्ने र विरोधीलाई प्रतिरक्षाका निम्ति बाध्य तुल्याउने । कांग्रेस भने त्यसको ठीक उल्टो बाटो लागेको छ । उसमा किलिङ इन्स्टिङ्टको अभाव त छँदैछ, जिजीविषाको समेत नितान्त अभाव देखिएको छ । त्यसैले उसले विरोधी दलको भूमिका र कर्तव्य भुसुक्कै बिर्सेर सत्ताको दलालीमा आफूलाई समर्पित गर्ने गरेको छ । मानौं, उसको काम भनेको आफ्ना विरोधीलाई आक्रमण गर्नु होइन, उसकै ढाल बनिदिनु हो । त्यसैलाई राजनीतिक भाषामा दलाली भनिन्छ ।
त्यसको ज्वलन्त उदाहरण हो, माओवादीद्वारा कथित जनयुद्धका नाममा हत्या, हिंसा र आतंक थालेर कांग्रेसका हजारौं कार्यकर्ताको निर्मम एवं नृशंस हत्या गरेको घटनाको विरोधमा कांग्रेसले कुनै कार्यक्रम नगरेर लज्जास्पद लाचारी प्रकट गर्नु । त्यो घटना राष्ट्रका निम्ति त कहिलै नमेटिने कलंकको टीका हुँदै हो, कांग्रेसका लागि पनि एक दिन एक क्षण भुल्न नहुने अविस्मरणीय घटना हो । उसको नेतृत्वमा भएको २०४६ को जनआन्दोलनले पुनस्र्थापित गरेको प्रजातन्त्रलाई प्रतिक्रियावादी घोषित गरेर त्यसलाई ध्वस्त पारेर त्यही ध्वंसमा नयाँ जनवादी राज्यसत्ता स्थापित गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको त्यो जनयुद्ध, यथार्थमा कांग्रेसको आदर्श र सिद्धान्तका विरुद्धको सशस्त्र आक्रमण थियो । त्यही कारण कांग्रेसका कार्यकर्ताको बीभत्स हत्याबाट त्यसको थालनी भएको थियो । नेपाली जनताका विरुद्ध लादिएको अत्यन्त क्रूर हत्याकाण्डको अभीप्सा थियो– प्रजातन्त्रको उच्छेदन तथा सर्वहारा वर्गको अधिनायकवादको स्थापना । कांग्रेसका नेता तथा कार्यकर्ताको हत्याबाट थालिएको त्यो ज्यानमारा अभियान १० वर्ष चल्यो, जसमा १७ हजार नेपालीको हत्या भयो । अनि, त्यसको परिणाम के भयो ? कसले जित्यो, कसले हा¥यो ? ख्वै, त्यसको मूल्यांकन गरेको ? त्यो काम गर्नुपर्ने थियो, कांग्रेसले । हत्याको बदला हत्याबाट लिन होइन, प्रजातन्त्रको रक्षाका निम्ति कांग्रेसको अकल्पनीय बलिदानको कथा, नयाँ पुस्तालाई स्मरण गराइरहन र त्यस्ता हत्याराबाट प्रजातन्त्र र देशलाई जोगाइराख्न पनि उसले त्यसको विरोधमा फागुन १ गतेलाई कालो दिनका रूपमा मनाउनु पर्ने थियो । त्यो त्यसैगरी मनाउनु पर्ने थियो, जसरी पञ्चायतकालमा पुस १ गतेलाई कालो दिवस भनेर मनाइन्थ्यो ।
कस्तो विडम्बना ! जनताका विरुद्ध जसले युद्धको घोषणा गरेर त्यत्रो विध्वंस मच्चायो र देशलाई पचासौं वर्ष पछाडि धकेलिदियो, उसले त्यो अपराधको पहिलो घटनालाई विजयोत्सवका रूपमा मनाउनु तर प्रजातान्त्रिक मूल्य र मान्यताका दृष्टिले राजनीतिक लडाइँ जितेको कांग्रेसले नयाँ जनवादी राज्यसत्ता कायम गर्न हत्या, हिंसा र आतंक मच्चाएर माओवादीले निरर्थकमा १७ हजार नेपालीको हत्या गरेर मुलुकलाई के दियो ? त्यो सवाल पनि उठाएन । त्यत्ति मात्र होइन, त्यो जनयुद्धमा परेर १० हजारभन्दा बढीको अंगभंग भयो र उनीहरू अपांग भएर आजीवन यातना झेल्न बाध्य भए, झन्डै दुई लाख नेपाली आफ्नै देशमा विस्थापित तथा शरणार्थी भएर बाँच्न विवश भए । गरिब जनताले तिरेका करबाट बनेका मुलुकका खर्बौका विकास निर्माणका पूर्वाधारको विनाशले देश कति पछाडि पर्यो र त्यसको क्षतिपूर्तिका लागि देशले अझ कति लगानी बढाउनुपर्नेछ, त्यसको पनि मूल्यांकन हुन सकेको छैन । कसैले त्यसको हिसाबकिताब राखेका छैनन् ।
त्यसका अतिरिक्त माओवादीको त्यो जनयुद्धले नेपालमाथि विदेशी हस्तक्षेप खुला रूपमा आमन्त्रित गर्यो । दिल्ली सम्झौताबाट त्यसको बिसर्जन भएको तथ्यले मात्र होइन, गरिब तथा पिछडा वर्गका हिन्दु धर्मका अनुयायीलाई धर्म परिवर्तन गरेर क्रिस्तान बनाउन माओवादीले जुन अभियान चलाउन दियो, त्यसले मन्दिरै मन्दिरको देशलाई क्रिस्तानहरूका चर्चको देशमा रूपान्तरित गर्न लगायो । चीनका माओका नाममा पार्टी खोलेर राजनीति थाल्ने, भारतको हितमा काम गर्ने र युरोपेली संघका लागि क्रिस्तान धर्म परिवर्तनको मैदान तयार गरिदिने जस्ता माओवादी क्रियाकलापले नेपाल बाहिर निक्लनै नसक्नेगरी उनीहरूका पकडमा जकडिन पुगेको यथार्थ कसैबाट लुकेको छैन । अहिले स्थिति यो बनेको छ कि बहुसंख्यक हिन्दु अत्यन्त अल्पसंख्यक क्रिस्तान धर्मका वशवर्ती हुन पुगेका छन् । त्यो स्थितिलाई उल्टाउन बहुसंख्यक हिन्दुहरूले प्रयास गर्लान् नै, त्यो बेग्लै पक्ष हो । त्यस बेला अहिलेसम्म नभएको धर्मयुद्ध भयो भने आश्चर्य मान्नुपर्ने छैन । त्यस्तो विद्रोह नभएसम्म अल्पसंख्यक क्रिस्तानका लागि विश्वको एक मात्र हिन्दु राष्ट्रले अपमानित र लज्जित भइरहनु पर्नेछ । त्यो पनि राज्यको कुनै धर्म हुँदैन भन्ने दलालहरूका पाखण्ड व्याख्या सुन्ने तर क्रिस्तान देशमा चाहिँ किन ईश्वरका नाममा शपथ लिइन्छ भनेर प्रश्न नगर्नेहरूका कारण ।
ती सबै तथ्य र तथ्यांकले के सावित गर्छ भने कांग्रेसले नेपाल र नेपालीले माओवादी जनयुद्धबाट गुमाउनेबाहेक पाए के भन्ने प्रश्नमा खोज र अनुसन्धान गर्नै पर्छ । माओवादीले लालसेनाको गठन गरेर त्यसका माध्यमबाट चीनको जस्तै नयाँ जनवादी राज्य व्यवस्था कायम गर्न लडेको थियो, उसका उत्तिबेलाका दस्तावेज त्यसका साक्षी छन् । माओवादीले त्यस्तो व्यवस्था किन स्थापना गर्न सकेन ? किनभने राजनीतिबाट आदर्श, सिद्धान्त र पद्धतिको अन्त्य गरेर उसले जुन शक्तिको भक्ति गर्न जनयुद्धलाई उसका पाउमा समर्पण गर्यो, त्यसको सत्य, तथ्य उजागर नगरेकाले त्यसका नेता अन्टसन्ट बकवास गर्न पाइरहेछन् । उनीहरूले जनयुद्धका दौरानमा कस्ता, कति हतियार र गोलीगठ्ठा कहाँबाट प्राप्त गरेका थिए, त्यसको खोजतलास र छानबिन कांग्रेसले स्वतन्त्ररूपमा यसअघि नै गरिसक्नुपर्ने थियो । उसले एउटा आयोग नै बनाएर लालसेनाको संख्या कति थियो ? तिनका लागि नियमित खर्च कति लाग्थ्यो र त्यो रकम कहाँबाट आउँथ्यो भनेर छानबिन गर्नु पथ्र्यो कि पर्दैनथ्यो ? माओवादीले बैंक र व्यक्तिका लुटेका रकम कति थिए र लालसेना पाल्न चाहिने रकम कति थियो ? जुन हतियार र गोलीगठ्ठाका बलमा माओवादीले १० वर्ष लामो कथित् जनयुद्ध मात्र लडेन, नेपाली राष्ट्रिय सेनालाई पनि आच्छुआच्छु पारेको थियो । सेनासित लड्ने त्यस्ता अत्याधुनिक तथा सेनाबाहेक अरूले पाउनै नसक्ने हतियार र गोलीगठ्ठा माओवादीले कहाँबाट कसरी प्राप्त गरेको थियो, त्यसैको ताकतमा कांग्रेसलाई १२बुँदे दिल्ली सम्झौतामा हस्ताक्षर गर्न बाध्य तुल्याएको थियो, त्यसका सम्बन्धमा माइक्रो लेवलमा जाँचपडताल हुनुपर्ने हो कि होइन ? त्यो किन भएन ? कसले रोक्यो, कांग्रेसलाई ? त्यो अवस्था भोलि फेरि दोहोरिन सक्छ । त्यसैले त्यसको जडसम्म पुगेर छानबिन आवश्यक मात्र होइन, अपरिहार्य छ ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीको हेडक्वार्टरमा आयोजित जनयुद्ध दिवसका अवसरमा तत्कालीन एमालेका तीन सय कार्यकर्ताको हत्या भएको दाबी प्रस्तुत गर्दै त्यसको मूल्यांकन हुनुपर्छ भनेर प्रचण्डकै मुखेन्जी उनलाई हत्यारा भन्न बाँकी राखेनन् । कांग्रेसले भने आफ्ना हजारांै कार्यकर्ताको हत्याको हिसाब किताब खोज्ने काम नै बिर्सिसकेको छ । त्यही कारण कालो दिवस मनाएर माओवादीले गरेको निर्मम तथा क्रूर हत्याको निन्दा र भत्र्सनासम्म गर्ने खाँचोबोध गरेन । उसको त्यही कमजोरीमा मार गर्न प्रचण्डले कांग्रेसका नेतालाई सडकमा घिसारेर नाङ्गेझार तुल्याउने आँट गर्न सके । त्यही काम पहिले कांग्रेसले गरेको भए माओवादी प्रतिरक्षामा जुट्न बाध्य हुन्थ्यो । अझै सबै बिग्रिसकेको छैन । अमेरिका एक हजार वर्षमा आउने चुनौतीको सामना गर्न मिलेनियम च्यालेन्जको रणनीति बनाएर काम गर्दैछ, नेपालको कांग्रेस आफ्ना मुख्य शत्रुको ढाडमा टेकेर टाउकामा प्रहार गर्ने माओवादी कलाको उपयोग उसैमाथि कसरी गर्ने त्यो रणनीति अपनाउने सोच्नसम्म सकिरहेको छैन । परिणाम यो हुन पुगेको छ, विचार र सिद्धान्तमा हारेको माओवादी सबैमाथि हावी हुने र जितेका बहुदलवादी उसको बुहार्तन झेल्न बाध्य छन् । धर्म निरपेक्ष घोषित गर्नेहरूले पशुपतिनाथसँग सद्बुद्धि प्रदानको वर नमाग्लान्, इशामसिहले नै सही, कांग्रेसका नेताहरूलाई त्यस्तो आशीर्वाद प्रदान गरून् ।
प्रतिक्रिया