काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग २ एकदिवसीय क्रिकेटमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । ओमान, अमेरिका र नेपालबीच भएको त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले अमेरिकालाई १२ ओभरमा ३५ रनमा समेटेको थियो ।
यो एक दिवसीय क्रिकेटमा सर्वाधिक थोरै स्कोरमा टिम समेटिएको दोस्रो पटक हो । यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई पनि ३५ रनमा समेटेको थियो । अमेरिकालाई लो स्कोरमा रोक्न नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले ६ तथा अर्का इमर्जिङ स्टार खेलाडी सुशन भारीले ४ विकेट लिए । नेपाली स्पिनसामू अमेरिकन ब्याट्सम्यान टिक्न सकेनन् । जेभियर मार्सलले सर्वाधिक १६ रन जोड्दा अरु कुनै पनि खेलाडीको प्रदर्शन सम्झन लायक थिएन ।
३६ रनको लक्ष्य भने नेपालले ५.२ ओभरमा पुरा गरेको थियो । नेपालका २ जना ओपनर भने आज पनि टिक्न सकेनन् । ज्ञानेन्द्र मल्ल १ तथा सुवास खकुरेल भने सून्य रनमै आउट भएका थिए । नेपाललाई जिताउन पारस खड्का २० तथा दीपेन्द्रसिंह ऐरी १५ रनमा नट आउट रहे । यो सिरिजमा दोस्रो जीत हात पारेको नेपालले आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा चार अंक जोडेको छ । नेपाल सात देश सहभागी यो लिगमा छैटौं स्थानमा छ ।
प्रतिक्रिया