८ पुसमा समाजवादी पार्टी सरकारबाट बाहिरिएकै दिनदेखि सिंहदरबार पस्ने राजपाको कसरत छ । समाजवादीको ठाउँमा राजपालाई भित्र्याउने नेकपाको पनि योजना छ । तर, डेढ महिना कसरत हुँदा पनि राजपाका लागि सिंहदरबारको ढोका अझै खुलेको छैन । सरकारमा सहभागितासँगै संविधान संशोधन, रेशम चौधरीको रिहाइ, उपसभामुख र प्रदेश २ को सरकारको हेरफेरसम्मको ‘प्याकेज डिल’को खोजीमा छन्, नेकपा–राजपा ।
नगद–उधारोको विवाद : नेकपा–राजपा सहकार्यका लागि तयार छन्, तर सहमति ‘उधारोमा होइन, नगदमा’ भन्ने ध्येयका साथ दुवै दलले एक–अर्काको नाडी छामिरहेका छन् । दुई मन्त्रालय लिएर राजपा संविधान संशोधनको सहमतिमा सरकारमा सहभागी होस् भन्ने नेकपाको चाहना छ । तर, राजपाचाहिँ सिंहदरबार प्रवेशका लागि संविधान संशोधन उधारोमै भए पनि डिल्लीबजार कारागारमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइको सुनिश्चितता खोजिरहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा मिलेको सफलताबाट उत्साहित सत्तारुढ नेकपा र राजपा उपसभामुख, प्रदेश २ को सरकार र संघीय सरकारको सहकार्यका विषयमा एक–अर्काको नाडी छाम्दै ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् । नेकपाका शीर्ष नेताहरू तथा प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीसँग जस्तै सहमति गरेर राजपालाई सत्ता सहयात्री बनाउने कोसिसमा छन्, तर राजपा नेपाल नेकपा आफूहरूको मागमा कतिसम्म लचिलो बन्छ भनेर पर्खिरहेका छन् । प्रधानमन्त्री ओलीले समाजवादीलाई जस्तै ‘उधारो सहमति’ गराउन खोजेको राजपाका नेताहरूको बुझाइ छ ।
८ मंसिरमा समाजवादी पार्टी नेपालले सरकार छाडेपछि सहकार्यका लागि नजिकिँदै गएका दुवै दल संसद्देखि संघीय सरकार र प्रदेश सरकारसम्म ‘प्याकेज डिल’का पक्षमा रहे पनि अझै ठोस परिणाम देखिएको छैन । यद्यपि, दुवै पक्षका नेताहरू नियमित संवादमै छन् । ‘पर्ख र हेर’को रणनीतिसँगै एकले अर्कालाई गलाउने प्रयासका कारण राजपाको सम्भावित सत्तायात्रा लम्बिँदै गएको छ।
४ माघमा प्रधानमन्त्री ओलीले राजपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा राजपा नेताहरू आफूहरूका मुख्य तीनवटा सर्तमा ओलीको धारणा माग गरेका थिए । राजपाले आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनताका लगाइएका मुद्दाहरू फिर्ता र संविधान संशोधनका लागि ठोस गृहकार्यको माग गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले राजपाको मागहरूमा ‘स्पेस’ खोज्ने आश्वासन दिए । २२ माघ बिहान प्रधानमन्त्री ओली र राजपा नेता महन्थ ठाकुरबीच दुई घन्टा लामो कुराकानी भयो । तर, त्यो भेट थप सहमतिका लागि कति परिणाममुखी भयो भन्ने यकिन छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया