देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगन्ज र नोबेलले लिए अतिरिक्त शुल्क

देशान्तर

चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै मोरङको नोबेल र बाँकेको नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेका छन् । विद्यार्थी र अभिभावकलाई प्रलोभन, त्रास र धम्की दिएर कलेज सञ्चालकहरूले शैक्षिक सत्रको सुरुमै बढी शुल्क असुलेका हुन् ।

२९ लाखभन्दा बढी अतिरिक्त शुल्क उठाउने प्रयास गरेको नोबेलले थप शुल्क लिन ६ जना विद्यार्थीसँग कबुलियतनामा गराइसकेको छ ।कबुलियतनामामा भर्ना, परीक्षा लगायत शीर्षकमा थप शुल्क लिने उल्लेख छ । नोबेलले बढी शुल्क तिर्न सहमत भएका ती ६ विद्यार्थीसँग मात्र माघ १९ गते काउन्सिलिङ गरेको थियो । अधिकांश अभिभावकले बढी शुल्क नतिर्ने अडान लिएपछि कलेज प्रशासनले शुल्क नतिर्नेलाई काउन्सिलिङमा सहभागी नगराएको हो । कलेजले एमबीबीएसतर्फ १०० विद्यार्थीको भर्ना लिन पाउँछ ।

नोबेलका अभिभावकले अतिरिक्त रकम माग्ने कलेजविरुद्ध चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय गुहारिसकेका छन् । आयोग र विश्वविद्यालयले आग्रह गरिसकेकाले थप शुल्क नतिर्ने अभिभावकहरूको भनाइ छ ।

‘नोबेलका सञ्चालक सुनील शर्माले फकाएर र धम्क्याएर ६ जनासँग बढी पैसा लिएछन्,’ एक अभिभावकले कान्तिपुरसँग भनिन्, ‘बाँकी अभिभावकले बढी रकम नतिर्ने सहमति गरेका छौं, भर्नाका लागि काठमाडौं विश्वविद्यालयमा पहिलो किस्ताको रकम जम्मा भइसकेको छ, पढाइ सुरु नगरे कानुनी उपचारमा जान्छौं ।’

आयोगको सम्पर्कमा आएका अभिभावकलाई उपाध्यक्ष श्रीकृष्ण गिरी र सदस्यसचिव हरिप्रसाद लम्सालले ‘एक रुपैयाँ पनि बढी रकम नतिर्न’ भनेका छन् । ‘विश्वविद्यालयमार्फत कलेजलाई सचेत गराइराखेका छौं, भर्ना गराएको ३५ दिनभित्र पढाइ सुरु गर्नुपर्ने काम विश्वविद्यालयको हो,’ गिरी र लम्सालको भनाइ उद्धृत गर्दै अभिभावक केशव दाहालले भने, ‘उपाध्यक्ष गिरी र सदस्यसचिव लम्सालले बढी पैसा लिन नपाए विद्यार्थी पढाउँदिनँ भन्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्छौं भन्नुभएको छ ।’

नोबेल प्रशासनले भने अभिभावकले बढी रकम नदिने अडान लिएपछि चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको थियो । शिक्षण शुल्कबापत कुन–कुन शीर्षकमा शुल्क लिन पाउने हो भनेर कलेजले लेखेको पत्रको जवाफमा आयोगले तोकिएभन्दा बढी शुल्क लिन नपाइने स्पष्ट पारेको छ । ‘आयोगले कुनै पनि शुल्क नलिन सचेत गराएपछि नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्कमा पनि छुट दिने नयाँ तरिका अपनाएको अभिभावकहरूले गुनासो गरे । कलेजले तत्कालका लागि २९ लाखबाट घटाएर १५ लाख रुपैयाँ मात्रै अतिरिक्त शुल्कमा कलेजले मोलमोलाइ गरिरहेको छ । नोबेल कलेजले प्रशासनले भने शिक्षण शुल्कका विषयमा विवाद सुल्झेको दाबी गरेको छ । कान्तिपुरमा खबर छ ।