देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशको समन्वयबिनै प्रमुख सचिव फेरबदल

देशान्तर

प्रदेश सरकार गठन भएको दुई वर्षको अवधिमा प्रदेश १ ले पाँचौं प्रमुख सचिव पाएको छ । प्रदेशको कर्मचारी प्रशासनमा केन्द्र सरकारको प्रत्यक्ष हस्तक्षेपको उदाहरण हो, छिटो–छिटो प्रमुख सचिवको फेरबदल । कर्मचारी प्रशासनको नेतृत्वकर्ता प्रमुख सचिवको छोटो अवधिमै हुने सरुवाले बामे सर्दै गरेको प्रदेशको संरचनालाई थप धक्का पुर्‍याउने गरेको छ ।

कर्मचारीतर्फका प्रमुख व्यक्तिकै छिटो–छिटो हुने सरुवाले लक्षित कामहरू प्रभावित हुने गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बताउँछन् ।त्यहाँका प्रमुख सचिव सुरेश अधिकारी १० महिनाको विराटनगर बसाइपछि अब काठमाडौं फिर्दै छन् । त्यहाँ हालसम्म खटाइएका प्रमुख सचिवहरूमध्ये अधिकारी लामो समय बस्न पाएका हुन् । यसअघि त्यहाँ तीनदेखि आठ महिनाको अवधिमा प्रमुख सचिव फेरिएका छन् ।

गत वैशाखमा सचिवमा बढुवा भएसँगै अधिकारीको पहिलो पोस्टिङ प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवका रूपमा भएको थियो । ‘प्रदेशको बसाइ निराश हुनुपर्ने ोथिएन । राम्रै समन्वयमा काम गर्दै आएको थिएँ,’ अधिकारीले भने, ‘चुनौतीहरू छन् । तर, प्रमुख सचिवका रूपमा काम गर्दा आत्तिएको थिइनँ । सरकारले नयाँ जिम्मेवारीमा पठाउने निर्णय गरेको छ । अब त्यता जाँदै छु ।’ उनको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा भएको छ । अधिकारीपछि त्यहाँ अब पाँचौं प्रमुख सचिवका रूपमा अहिले नयाँ बढुवा भएका दिनेश भट्टराई जाने भएका छन् ।

२०७४ कात्तिकमा मुख्य सचिवको जिम्मेवारी पाएका लोकदर्शन रेग्मीले ढुक्कसँग तेस्रो वर्षमा काम गरिरहँदा प्रदेशमा उनीजस्तै भूमिकामा रहने प्रमुख सचिवहरू भने फेरिएका फेरिएकै छन् । प्रदेश सरकारका निर्णयहरू कार्यान्वयन, अनुगमन, समग्र कर्मचारी प्रशासनको खटनपटन र कर्मचारी व्यवस्थापनदेखि कानुनहरूको निर्माणमा सक्रिय भूमिका रहने प्रमुख सचिवको छिटो–छिटो सरुवाले प्रदेशका काम प्रभावित भइरहेका छन् ।

नेपाल सरकारले विशिष्ट श्रेणीका कर्मचारी सचिवलाई प्रदेशको प्रमुख सचिवमा पठाउने गरेको छ । २०७४ माघमा सातवटै प्रदेशमा पहिलोपटक प्रमुख सचिवहरू पठाइएका थिए । त्यसयता सबैभन्दा बढी प्रदेश १ मै प्रमुख सचिव फेरिएका छन् । त्यहाँ अधिकारीभन्दा अगाडि यादव कोइराला, सुरेश प्रधान र केदार न्यौपानेले प्रमुख सचिव भएर काम गरेका थिए । बाँकी अन्य प्रदेशमा दुई वर्षको अवधिमा तेस्रो प्रमुख सचिवले काम गरिरहेका छन् ।

संघ सरकारको मन्त्रिपरिषद्को निर्णयबाट सचिव सरुवा हुने गर्छ । तर, संघले प्रदेशसँग सामान्य समन्वयसमेत नगरी प्रमुख सचिवहरू चलाउँदै आएको आरोप लाग्दै आएको छ । ‘केन्द्रले समन्वय नै नगरी नेतृत्व तहका जिम्मेवार कर्मचारी सरुवा गरिदिँदा अप्ठ्यारो भइरहेका छन् । अहिलेका प्रमुख सचिवले राम्रै गरिरहनुभएको थियो । उहाँलाई थप समय राख्न चाहेका थियौं,’ मुख्यमन्त्री राईले भने, ‘तर, हठात् सरुवा गरियो । ‘स्मुथली’ काम बढिरहेका बेला हुने सरुवाले नराम्रो प्रभाव पर्छ ।’ प्रदेशसँग बिनाकुनै समन्वय केन्द्रले प्रमुख सचिव चलाउने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । कान्तिपुरमा खबर छ ।