दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ– उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा–लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन् । मंगलबार अपराह्न बालुवाटार निवासमा दुई दर्जन सम्पादक–पत्रकारसँग भने उनी फरक शैलीमा प्रस्तुत भए ।
पहिले दुई घण्टा हाम्रा प्रश्न र धारणा सुन्न चाहे, त्यसपछि एक घण्टा आफ्ना कुरा राखे । सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा प्रेससँग प्रत्यक्ष अन्तर्क्रिया गरेका हुन् ।
यस क्रममा उनले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यति प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा । विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ ।
सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न किन गरेको भन्ने धेरैजनाको प्रश्नमा प्रधानमन्त्रीको प्रस्टीकरण थियो, ‘प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा हुँदैन । कहींकतै गल्ती वा त्रुटि भएको छ भने त्यसलाई सच्याइनेछ ।’
प्रतिक्रिया