सन् २०२० मा हात्तीपाइले निवारण लक्ष्य पूरा गर्न सरकारलाई सकस परेको छ । अझै १३ जिल्लाका ७४ लाख ६१ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउन बाँकी नै छ । यस वर्ष ती जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।
सरकारले आगामी २५ माघदेखि औषधि सेवन गराउने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत महाशाखाका अनुसार औषधि सेवन गराउन १३ जिल्लामा १६ हजार ७ सय २३ स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । हात्तीपाइले रोग निवारणमा २१ करोड ५३ लाख ७८ हजार खर्च लाग्ने अनुमान छ ।
सरकारले झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागेको हो ।
चिकित्सकका अनुसार हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्केरी र गम्भीर बिरामीले खानुहुँदैन । क्यान्सर, मुटु, फोक्सो र मिर्गौलासम्बन्धी रोग भएका र छारेरोग भएकाले पनि हात्तीपाइले औषधि सेवन गर्न नहुने चिकित्सक बताउ“छन् ।
२४ घन्टाभित्र कडा ज्वरो आएका बिरामी र कुपोषण भएका पा“च वर्षमुनिका बालबालिकाले पनि यो औषधि सेवन गर्न नहुने महाशाखाको भनाइ छ ।
त्यस्तै, खाली पेटमा औषधि सेवन नगर्नसमेत चिकित्सकको सल्लाह छ । हात्तीपाइले रोग ‘कष्टप्रद र असमर्थ’ बनाउने रोग हो । चिकित्सकका अनुसार प्रायः बाल्यकालमा यो रोग लाग्ने गर्छ ।
हात्तीपाइले शारीरिक अशक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीका कारण लाग्ने यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र लक्षण देखापर्ने र त्यसपछि निको पार्न गाह्रो हुने चिकित्सक बताउँछन्।
प्रतिक्रिया