देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यालयको योजना छनोट राष्ट्रपतिबाट !

देशान्तर

सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने भएको छ । विद्यालयको आवश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि बनाइएको हो ।संविधानले विद्यालय तहको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइसकेको छ ।

तर, विद्यालय सुधार गर्न छानिने योजनाको अन्तिम निर्णय संघीय सरकारले गरेर योजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै स्थानीय तहलाई दिने गरी माघ ६ को मन्त्रिपरिषद् बैठकले कार्यविधि पारित गरेको छ । विद्यालयको वार्षिक उत्सवमा प्रमुख अतिथिको भूमिकामा राष्ट्रपति जाँदा अनुदान दिन सक्ने गरी कार्यविधि बनाइएको छ ।

सरकारको यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पाँच अर्ब बजेट छुट्याइएको थियो । यसमध्ये एक अर्ब ७० करोड ९० लाख रुपैयाँ सामुदायिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड खरिद गर्न स्थानीय तहलाई पठाइसकेको छ । स्थानीय तहले प्याड खरिद वा बजेट विद्यालयमा पठाउन सक्ने गरी केन्द्रले बजेट पठाएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यही शीर्षकको बाँकी ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खर्च गर्न संघीय सरकार र राष्ट्रपति कार्यालयले योजना छनोट गर्ने गरी कार्यविधि बनाइएको हो ।

सार्वजनिक शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार विकास र पुनःसंरचना गर्न, गुणस्तर बढाउन, पर्याप्त शैक्षिक सामग्री उपलब्ध गराउन तथा अभिभावकलाई सामुदायिकतर्फ आकर्षित गर्न बजेटमै यो कार्यक्रम घोषणा गरिएको थियो । कार्यक्रम कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिमा केन्द्रबाट स्थानीय तहमार्फत विद्यालयको आवश्यकता संकलन गरी संघीय शिक्षामन्त्री अध्यक्ष हुने निर्देशक समितिले योजनाको प्राथमिकता क्षेत्र निर्धारण गर्ने उल्लेख छ ।

समितिमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक सदस्य रहने र शिक्षा मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका सहसचिव कार्यक्रमको सदस्य सचिव रहने छन् ।
‘समितिबाट निर्धारित प्राथमिकताको क्षेत्रभित्र रहने गरी केन्द्रले कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक शैक्षिक संस्था छनोट गर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘राष्ट्रपति कार्यालयबाट सिफारिस भई आएका कार्यक्रमहरूलाई प्राथमिकता क्रममा राखी कार्यान्वयनमा ल्याइनेछ ।’ कान्तिपुरमा खबर छ।