देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘महाराज’ को महायज्ञ नै रोकियो

देशान्तर

 नारायणी नदी किनारमा एक महिनाका लागि भन्दै गत साताबाट सुरु भएको महायज्ञ एक सातामै अन्त्य गरिएको छ । महायज्ञको मूल वाचकका रूपमा रहेका बालयोगेश्वर ‘महाराज’ बताउने विजय भण्डारीको ठगीले भरिएको विगतबारे शृंखलाबद्ध समाचार प्रकाशित भएपछि आयोजकले मूल समारोह समिति तथा सम्पूर्ण उपसमितिहरू विघटन गर्दै महायज्ञ अन्त्यको घोषणा गरेको हो ।

एक समय आफूलाई विष्णु प्रपन्नाचार्य बताउने विजय आर्थिक ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतको आदेशपछि २०७१ पछि १८ महिना र २०७६ मा १९ दिन जेल बसेका थिए । कैद सजाय भुक्तान गरेर निस्केपछि नाम बदलेर बालयोगेश्वर बनेका उनीमाथि केही ठगी मुद्दा अदालतमा विचाराधीन छन् । महायज्ञको उद्घाटन गर्न भन्दै अघिल्लो दिन नै चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन मुख्य वाचकको विवादित पृष्ठभूमि थाहा पाएपछि फिर्ता भएका थिए ।

गत मंगलबार महायज्ञ आयोजक समितिले कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्दै महाराजको बचाउ गरेको थियो । समितिका महासचिव एवं प्रवक्ता दिलीप न्यौपानेले ७२ लाख नदिएपछि कान्तिपुरले समाचार लेखेको आरोप लगाउँदै समाचारको खण्डन गर्न केही दिनमा महाराज स्वयं उपस्थित हुने बताएका थिए । उनले कान्तिपुरसँग भनेका थिए, ‘एक/दुई दिनमै महाराजको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सबै कुरा स्पष्ट पारिनेछ ।’ प्रवक्ता न्यौपानले यस्तो दाबी गरेको तीन दिनपछि समितिले विज्ञप्ति जारी गर्दै महाराज आयोजक समितिको सम्पर्कमा नरहेको र उनले आफूहरूलाई झुक्काएको जनाएको हो ।

सुरुवाती दुई दिन मात्र यज्ञ स्थलमा देखिएका ‘महाराज’ त्यसपछि सम्पर्क बाहिर रहेका थिए तर गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने प्रवक्ता न्यौपानेले ‘महाराज’ कामविशेषले व्यस्त रहेको भन्दै उनको बचाउ गरेका थिए ।

भरतपुर महानगरपालिका २३ स्थित महायज्ञ आयोजक पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा महाराजले विभिन्न आशा भरोसासहित पूरा हुन नसक्ने झूटा आश्वासन दिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैका कारण महायज्ञ सञ्चालन गर्न प्राविधिक पक्षबाट असमर्थ भइयो ।’ मुख्य वाचकसँग जोडिएर पत्रपत्रिकामा आएका समाचारबाट आफूहरू स्तब्ध र लज्जित भएको जनाउँदै समितिले भनेको छ, ‘उहाँबाट यस किसिमका गल्ती भएका हुन् या होइनन्, ती कुरा सम्बन्धित व्यक्तिलाई नै थाहा होला । गल्ती गरेको भए सोको भागीदार स्वयं महाराज नै हुनुहोला ।’ समितिले कानुनी बाटोबाट छानबिन गरी दोषीमाथि उचित कारबाहीको माग पनि गरेको छ ।

मन्दिर व्यवस्थापनले यज्ञ सञ्चालनका क्रममा आफूहरूले कुनै आर्थिक सम्झौता नगरेको प्रस्ट पारेको छ । २५ करोड उठाउने लक्ष्य राखेर सुरु गरिएको महायज्ञ बीचमै बिथोलिएपछि यज्ञ व्यवस्थापनमा यसअघि नै गरिएको खर्च कसले बेहोर्ने भन्ने प्रश्न उब्जिएको छ । समितिले महायज्ञका क्रममा विभिन्न संस्था तथा व्यक्तिसँग महाराज आफैंले आर्थिक सम्झौता गरेको स्पष्ट पारेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यज्ञ स्थलबाट सामग्री उठ्न थालेको बताए । उनले यज्ञका लागि भनेर ठूलो रकम उधारोमा कारोबार भएको बुझिएको पनि सुनाए । प्रजिअ भट्टराईले भने, ‘महाराजको विवाद आएपछि पनि केही व्यक्ति हामीले यज्ञ सञ्चालन गर्दा कसो होला भनेर आउनुभएको थियो । मैले यो तपाईंहरूकै छलफलबाट टुंगियोस् भनेर पठाएको थिएँ । पछि केही कुरा आएन ।’

महायज्ञ सकिएपछि पैसा दिने सर्तमा ‘महाराज’ आफैंले चितवनका विभिन्न व्यापारीसँग उधारो कारोबार गरेका थिए । ‘महाराज’ को विवादित व्यक्तित्वबारे समाचार आएपछि व्यापारीले रकम उठाउन ‘महाराज’ को खोजी गरे पनि उनी सम्पर्कमा छैनन् ।

पछिल्ला दुई दिनमा उधारोमा सामान दिने चितवनका व्यापारीले अनौपचारिक भेला नै गरेका थिए । कान्तिपुरको सम्पर्कमा आएका ती व्यापारीका अनुसार करिब सवा करोड रुपैयाँ उधारो कारोबार भएको छ । टेन्ट, साउन्ड सिस्टम, फ्लेक्स, गाडी र खाद्यान्नमा सबैभन्दा धेरै रकम उधारो कारोबार भएको देखिन्छ । कान्तिपुरमा खबर छ।