चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ निम्त्याएको भन्दै आपत्काल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताउनुभयो । उहाँले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पार्नुभयो । सचिव बरालले चीनबाट आएका एक जनालाई भाइरस पुष्टि भएको हो । चीनबाट आएका अन्य विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमण भेटिएन भन्नुभयो ।कोरोनाविरुद्ध नेपालको तयारी सूक्ष्म र प्रभावकारी रहेको दाबी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको छ । कोरोना भाइरसको शङ्का लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्नुपर्दछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रिपोर्ट पोजेटिभ आएको अवस्थामा १५ दिन आइसोलेसनमै राख्नुपर्ने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार रिपोर्ट नेगेटिभ आयो भने तुरुन्त डिस्चार्ज गरिन्छ । पोजेटिभ रिपोर्ट आयो भने १५ दिनसम्म निगरानीमै राख्नुपर्ने हुन्छ । एयरपोर्टमा भाइरस प्रभावित क्षेत्रबाट आउने मानिसलाई परीक्षण गर्ने व्यवस्था सुरु गरिसकिएको छ ।
चीनबाट आउने तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । त्यहाँ पनि परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पर्यटन क्षेत्र पोखरा, चितवन लगायतका स्थानमा समेत हेल्थ डेस्क राखिएको छ । ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।
काठमाडाँैँमा अस्पतालको व्यवस्था गरिएको छ । नेपालमा हालसम्म जम्मा एक जनामा मात्र कोरोना भाइरस रहेको पुष्टि भएको छ र अहिले ठीक भइसकेको छ । यो रोगका कारण कसैको ज्यान गएको छैन । भाइरस सङ्क्रमित व्यक्तिको वरिपरिको कुनै पनि व्यक्तिलाई सरेको छैन । कुनै पनि लक्षण देखिएको छैन । नेपालमा कोरोना भाइरस छ भन्न सक्ने अवस्था छैन तर अहिले कहीँ लुकेर बसेको हुन पनि सक्ने हुनाले कोरोना भाइरस लाग्न नदिन निगरानी भने बढाउनुपर्छ । अधिकारीका अनुसार मन्त्रालयले यसको निगरानी बढाइरहेको छ । सबै अस्पताललाई समेत कुनै शङ्कास्पद बिरामी छ भने तुरुन्त मन्त्रालयलाई जानकारी गराउनु भन्ने निर्देशन दिइएको छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया