मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
केन्द्रले सिंहदरबारस्थित आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ऋषिराम शर्माले प्राविधिक परीक्षणहरूको थप विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएसँगै केन्द्र थप प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
काम सम्पन्न भइसकेका विकास आयोजनाहरूका निर्माण कार्य डिजाइन बमोजिम भएको छ छैन, गुणस्तर कायम भएको छ छैन, त्यसको परीक्षण गर्न निर्माण भएका आयोजनालाई नभत्काई÷नबिगारी परीक्षण (नन डिस्टक्टिभ टेस्ट) गर्न सकिने उपकरणसमेत खरिद गरिसकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘प्रयोगशाला सञ्चालन तथा गुणस्तर परीक्षणसम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत भइसकेको छ । यसका लागि आवश्यक पर्ने ‘टेस्ट मेनुअल’ समेत तयार भइसकेकोे केन्द्रले जनाएको छ । परीक्षण गर्ने विधि तथा कुन एकाइमा कुन विधिले कसरी परीक्षण गर्ने लगायतका विषयवस्तु परीक्षण कार्यविधिमा समेटिएको छ ।
‘ल्याब टेक्निसियन’ र ‘ल्याब ब्वाइ’ लगायत प्राविधिक सहितका कर्मचारी लोक सेवा आयोगसँग माग गरिएको र प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउनका लागि करारमा प्राविधिक कर्मचारीसमेत नियुक्त गरिएको छ । केन्द्रले यसअघि भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्ने क्रममा सडक विभाग, इ(िन्जनियरिङ कलेजहरूका प्रयोगशाला प्रयोग गर्दै आएको थियो । गाेरखापत्रमा खबर छ।
प्रतिक्रिया