देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस कारण नर्स विदेशिन बाध्य

देशान्तर

नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उहाँ हाल अस्ट्रेलिया पुग्नुभएको छ ।

लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाउनुभयो । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उहाँ पनि अहिले अमेरिका पुग्नुभएको छ । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।

नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताउनुभयो । ‘‘सुरुमा नर्स भन्ने वित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्ने गर्दछन्’’, प्राध्यापक श्रेष्ठले भन्नुभयो, “तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको सङ्ख्या अत्यधिक छ ।”

कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, दस हजार रुपियाँमा काम लगाउने गरेका छन् भन्दै श्रेष्ठले भन्नुभयो, “नर्सिङ सङ्घ नेपालमै रोजगार र विभेदकारी व्यवस्थाको अन्त्यका लागि लडिरहेको छ ।” अधिकृत स्तरको चिकित्सक सुरुमै आठौँ तहमा नियुक्त हुने व्यवस्था छ तर नर्सलाई सातौँ तहमा मात्र राखिने गरेको भन्दै श्रेष्ठले थप्नुभयो, “सरकारी निकायबाटै विभेदकारी व्यवस्थाको अन्त्य गर्नुपर्दछ ।”