बर्दिया – जिल्लाको विकासले फड्को मार्ने र आसलाग्दा आयोजनाको कामले तीव्रता पाउने बेलामा बर्दियाका अधिकतर आयोजनाको काम अलपत्र परेको छ। चार महिनायता सरकारको प्राथमिकतामा परेका आयोजनाको काम अलपत्र अवस्थामा रहेका हुन्।
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक, सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजना र सघन सहरी कार्यक्रमअन्र्तगतको गुलरिया नगरपालिकाभित्र सुरु भएको डेढ अर्बको कामले गति लिन सकेको छैन। गुलरिया नगरपालिकाभित्र पर्ने फोर–लेन सडक र आठवटा स्थानीय तहमा सञ्चालित सडक तथा पुल निर्माणजस्ता विकासको काम अघि बढ्न सकेको छैन।
निर्माण कम्पनी, आयोजना प्रमुख र स्थानीय प्रशासनको समन्वय नहुँदा विकासका अधिकतर काम प्रभावित भएका छन्। प्रस्तावित बजेट स्वीकृत नहुँदा कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाको काम अघि बढ्न नसकेको आयोजना प्रमुख केदार श्रेष्ठले बताए। ‘तटबन्धको पुरानो संरचना कर्णाली नदीले भत्काएको छ,’ उनले भने, ‘सिजनमा तटबन्धको पुनःनिर्माण गर्न नसकेको राजापुरमा कर्णाली नदी पस्ने जोखिम बढेको छ।’ ७० प्रतिशत काम सम्पन्न भइसकेको र तीन खण्डमा निर्माण भइरहेको हुलाकी सडक कालोपत्रे गने काम चार महिनादेखि हुन सकेको छैन।
आयोजना प्रमुख युवराज पोख्रेल र हुलाकी सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन छन्। कार्यालयले भुक्तानी नदिँदा काम हुन नसकेको निर्माण कम्पनी प्रतिनिधिको आरोप छ। ‘आयोजना प्रमुख महिना दिनदेखि छैनन्,’ हुलाकी आयोजनका निर्माण कम्पनीका सञ्चालकले भने, ‘कसैलाई वास्ता छैन, पैसा नभएपछि काम कसरी अघि बढ्छ ?’ पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको बेलवा र मूर्तिहा सडक अलपत्र अवस्थामा छ। यस्तै बेलवा–भुरिगाउँ हुलाकी सडकको जिम्मा लिएको निर्माण कम्पनीका प्रमुख तथा परशुराम नगरपालिका, नगरप्रमुख भीम साउदले लिएको काम अलपत्र अवस्थामा छ। ठूला निर्माण कम्पनीले जिम्मा लिएका विकासे आयोजना अलपत्र पर्दा पनि प्रशासन सक्रियता नदेखाएको स्थानीयको आरोप छ। नागरिक दैनिकमा खबर छ।
प्रतिक्रिया