क्यारेबियन क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भे(यूएसजीएस) का अनुसार मंगलबार जमैका, केम्यान आइल्याण्ड र क्युबाको बीचमा पर्ने क्यारेबियन क्षेत्रमा भूकम्प गएको हो ।भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु जमैकाको लुसियाबाट १२५ किलोमिटर उत्तर पश्चिममा रहेको थियो ।भूकम्पको धक्काले भवनहरु हल्लिए पनि मानवीय क्षतिबारे केही जानकारी आएको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाले मानवीय क्षति भएको छैन ।
त्यस क्षेत्रमा रहेका केही कार्यालयहरु अस्थायी रुपमा मायामी र जमैकामा सारिएको बताइएको छ । भूकम्पसँगै प्यासिफिक सुनामी वार्निङ सेन्टर(पीटीडब्ल्यूसी) ले सुनामीको चेतावनी दिए पनि पछि फिर्ता गरेको छ ।
प्रतिक्रिया