काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ ।
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको संयोजकत्वमा गठित अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदन शुक्रबार प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयलाई बुझाएको हो ।
सरकारलाई अझै अनुसन्धान पूरा नभएकाले म्याद थप गर्न सीआईबीले अनुरोध गरेको थियो। तर सरकारले म्याद नथपेपछि अहिलेसम्म भएको अनुसन्धानको आधारमा प्रतिवेदन बुझाइएको हो ।
उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ ।
कर्मचारीले जग्गा दलालसँग मिलेर सरकारी जग्गा ठगी र भ्रष्टाचार गरेको देखिन्छ । किर्ते कागजात बनाएर सरकारी जग्गा व्यक्तिको नाम गरिएको छ’, सीबीआईका एक अधिकारीले जानकारी दिँदै भने ।-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया