पोखरा स् पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ। विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो।
चितवनले दिएको २०३ रनको विजय लक्ष्य विराटनगरले भेट्न सकेन। विराटनगरले पुरै २० ओभर खेल्दा सात विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो। चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।
टस हारेर पहिलो ब्याटिङ गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाए। विस्फोटक ब्याटिङ गरेका अनिलले ३४ बलको सामना गर्दै ३ छक्का र ३ चौकाको मद्दतमा ५० रन जोडे भने रोहनले १ छक्का र ३ चौका हिर्काउँदै अर्धशतक पूरा गरे। विस्फोटक ब्याटिङ गरेका कप्तान पारस खड्काले ११ बलमा २५ रन बनाए।
उनले जितेन्द्र मुखियाको बलमा लगातार पाँच वटा बाउन्ड्री हिर्काएका थिए। तेस्रो ओभरको तेस्रो बलसम्म लगातार चौका र चौँथो बलमा छक्का प्रहार गरे। त्यस्तै पाँचौँ बलमा चौका हिर्काए।
त्यस्तै करण केसीले विस्फोटक ब्याटिङ गर्दै ८ बलमा २६ रन बनाए। उनले २ छक्का र २ चौका हिर्काए। त्यसैगरी आरिफ शेखको ब्याटबाट १९ रन बन्यो।
विराटनगरका लागि महम्मद जैद आलम र पुनित मेह्राले समान २र२ विकेट लिए। त्यस्तै किशोर महतोको नाममा १ विकेट रह्यो।
चितवन जारी संस्करणको पीपीएलमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। विराटनगरले बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
प्रतिक्रिया