पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा विराटनगर टाइटन्सले जित हासिल गरेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा आफ्नो जित दर्ता गराएको हो ।
टस जितेर फिल्डिङ रोजेको पोखराले विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पुरा गर्न सकेन। अन्तिम ओभरमा अलआउट हुँदै पोखरा एक सय रनमा समेटियो। अन्तिम ओभरको पाँचौं बलमा किशोर महतोले ललित राजवंशीलाई आउट गराए ।
पोखराका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १३ बलमा २४ रन बनाए । उनले एक चौका र तिन छक्का प्रहार गरे । भुर्तेललाई चौथों ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले आउट गराएका थिए ।
उनलाई रिप्लेस गर्दै रविइन्दर सिंह क्रिजमा आए तर चम्कन सकेनन् । मुखियाले नै रविइन्दरलाई सोही ओभरमा शून्य रनमै सीमित गराई पेभेलियन फर्काए । पोखराका लागि आशिफ शेखले २२ बलमा १३ रन जोडेर आउट भए। उनी साहब आलमको बलमा क्लिन बोल्ड भए ।
बाह्रौँ ओभरको पाँचौं बलमा ब्याटिङमा उत्रिएका कप्तान शरद भेषवाकरले समेत खेललाई चम्काउन सकेनन् । ४ बलमै शून्य रनमा सीमित गराई मोहम्मद जैद आलमले आउट गराए । त्यस्तै कुशल मल्लले समेत व्यक्तिगत खाता खोल्न सकेनन् ।
रोहितकुमार पौडेलले ३८ बलमा ३२ रन बनाए । उनले ३ चौका र १ छक्का हिर्काए। पौडेललाई मोहम्मद जैद आलमले साहब आलमको हातबाट क्याचआउट गराएका थिए । पोखराका लागि रसिद खान ८, बिनोद भण्डारी ४, प्रथामेश डाके ३ रन बनाएर आउट भए। प्रथामेश र रसिदलाई किशोर महतोले अठारौं ओभरमा आउट गराए ।
विराटनगरका लागि सर्वाधिक किशोर महतोले ३ विकेट हात पारे। जितेन्द्र मुखिया, मोहम्मद जैद आलमले समान २/२ विकेट लिए। साहब आलम, नोमान खान, पुनित मेहराले १–१ विकेट लिए ।
उद्घाटन खेलमा काठमाडौंमाथि ९ विकेटको शानदार जित निकालेको पोखराले लगातार दोस्रो हार भोग्नु परेको छ। मंगलबारको खेलमा पनि चितवन राइनोजसँग ६ विकेटले पोखरा पराजित भएको थियो ।
विराटनगरले यससँगै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यसअघिको खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत बिहीबार बुटवल ब्लास्टर्स र चितवन राइनोजबीच खेल हुनेछ ।
प्रतिक्रिया