नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज एक बिशेष कार्यक्रमकाबीच समापन हुँदैछ । समापन समारोहलाई अहिलेसम्मकै व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले जानकारी दिए ।
सदस्यसचिब सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताए ।
समापन समारोहअघि आज नै नेपाल र भुटानबीच फुटवलको फाईनल हुनेछ । फुटवल प्रतियोगिताको फाईनल लगत्तै समापन समारोह सुरु हुनेछ ।
डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्नेछन् । भोलि (बुधबार) प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार , नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्ने छन् ।
१४ औँ साग पाकिस्तानमा;
समापन समारोहकै अवसरमा १४ औँ साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी दिए ।
कार्यक्रमका अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ ।
प्रतिक्रिया