देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्यानमारा : सडक कि मानवीय व्यवस्थापन ?

देशान्तर

‘अंकल, गाडी चढ्दिनँ, पल्टिन्छ ।’ यो भनाइ हो एक तीन वर्षीय बालिकाको । पछिल्लो समयको एउटा दुःखद् घटना अर्घाखाँची दुर्घटनामा परेकी बालिका एन्जिला भट्टराईले त्यो दुर्घटनापछि गाडी नै चढ्न नमानेको र त्यो पल्टिहाल्ने भन्ने उनको बुझाइ रहेको यसरी आए अखवारमा । दुर्घटनामा बाँच्न सफल भएकी यी बालिकालाई प्रहरीले उद्धार गरेको थियो भीरबाट । पछि थाहा भयो उनकी आमाले उनलाई गाडीको झ्यालबाट फालेकी रहिछन् । विवरणमा आएअनुसार उनकी आमा गम्भीर घाइते भइन् । तिनै बालिकाले आमाको नाम सीता भट्टराई भनेपछि उनको उपचार भइरहेको अस्पतालबाट पत्ता लाग्यो । बालिका पनि घाइते थिइन् तर सामान्य खालको ।

भीरमा रोइरहेकी अवस्थामा उनलाई उद्धार गरिएको थियो । उद्धार त भयो तर उनका आफन्त त्यहाँ कोही थिएनन् । आफन्तासम्म पुर्याउन गाडी चढ्नुको विकल्प थिएन प्रहरीसँग । तर उनी त्यसपछि गाडी चढ्नै मानिनन् । कारण थियो पल्टिहाल्छ भन्ने । यसले आफैं बुझाउँछ बालबालिकामा समेत अब गाडी चढ्नै नमान्ने अवस्थामा सडक दुर्घटनाका भयावहता कसरी विस्तार हुँदैछ भन्ने ।

गएको हप्तामात्रै एउटा सडक दुर्घटनामा एउटै गाउँका १९ जनाको मृत्यु भयो । एउटा घुम्ती पार गर्न नसकेर बस सडकबाट तल खस्दा यस्तो भएको बताइयो । समाचार अनुसार पश्चिमी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको बस दुर्घटना हुँदा १७ को घटनास्थलमै र दुई जनाको उपचारका क्रममा त्यसै दिन मृत्यु भएको हो । मृत्यु हुनेमा बसधनी र चालकसँगै सात महिला र १२ पुरुष थिए । यो घटनामा घटनास्थलमै १७ जनाको मत्यु भयो, पछि दुईजना थपिए । बस सडकबाट करिब अढाई सय मिटर तल खसेर दुई टुक्रा भएको बताइएको छ । भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका थिए ।

घाइतेभन्दा मृतकको संख्या बढी हुनु, बस टुक्राटुक्रामा परिणत हुनु आफैं एउटा भयावह अवस्था हो । यो दुर्घटनाकै सन्दर्भसँग जोडिएर आएको अर्को समाचार अनुसार यो बेलासम्मको पछिल्लो दुर्घटना भएको यो सडकखण्डअन्तर्गतको करिब ७–८ किमिको दूरीमा यसअघि पनि दर्जनांै दुर्घटना भइसकेका छन् । सडकमा छोटाछोटा घुम्ती छन् । सन्धिखर्कबाट बुटवल जान तीव्र गतिमा ओरालो लागेका सवारीले गति नियन्त्रण नगरी घुम्ती पार गर्न खोज्दा दुर्घटना हुने गरेको बताइएको छ । २०६८ यता यो किमिको दूरीमा भएका दुर्घटनाको तथ्यांकअनुसार ०६८ मा २१, ०६९ मा १२ र ०७० मा १७ जना ०७१ मा ३१ र ०७२ मा ११, ०७३–७४ मा भएका तीन सवारी दुर्घटनामा दुई जनाको निधन भयो भने १८ घाइते भए । ०७४–७५ मा भएका सात दुर्घटनामा ६ जनाको मृत्यु र १४ घाइते भए । गत ०७५–७६ मा भएका सात सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ३८ घाइते भए । चालू वर्षमात्रै गत महिना भएको एउटा दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

यो पछिल्लो दुर्घटनाको यो चित्र यो ठाउँका मात्र होइन पहाडि भेगका प्रायः सबै दुर्घटना यसरी नै हुने गरेका छन् । यो दिनमात्रै यस्तै पहाडी दुर्गम ठाउँमा दर्जनभन्दा बढी दुर्घटना भएका हताहतीको संख्या पनि ठूलो रहेका समाचार आइरहेका थिए । यो क्रम त्यसपछिका दिनमा पनि जारी छ । अझ दुर्गम जिल्लामा त यस्तो दुर्घटना र मृत्युदर झनै बढी नै भएको पाइन्छ । यसको केही दिनअघि मात्रै सिन्धुलीमा पनि यस्तै ठूलो संख्याको ज्यान लिएको दुर्घटना भएको थियो । एकै ठाउँमा १९ जनाको ज्यान लिएको यो सन्धिखर्क–गोरुसिंगे खण्डको बढी दुर्घटना भएको ठाउँको दूरीको हिसाबले धेरै लामो होइन । यसमा अलिकति सतर्कता अपनाइएको भए यी दुर्घटना हुनबाट जोगिने थियो । बाटो साँघुरो हुनु, मोड बढी हुनुमात्रै दुर्घटनाको कारण भए स्वाभाविक छ त्यो बेला त्यो बाटोलाई दोष दिन मिल्थ्यो होला । तर यो पछिल्लो दुर्घटनामा पनि उच्च गति रहेको र त्यस्तै गतिमा त्यस्तो साँघुरो मोड काट्न खोजियो भन्ने प्रारम्भिक अनुमान आएका छन् । दुर्घटनामा बाँचेकाहरूले सुनाएका विवरणहरूले पनि यस्तै आकलन गराउँछन् । त्यसो हो भने यही दुर्घटनाको कारण सडकको अवस्थाभन्दा बढी मानवीय त्रुटि रहेको अनुमान गर्न सकिन्छ । बढी घुम्ती हुनु, मोड साँघुरो रहनु भनेको चालकले बढी सतर्कता अपनाउनु होे । माथि उल्लेख भएका यो ठाउँमा निरन्तरका दुर्घटनामा कारण एउटै रहेको बताइयो– तीव्र गति । यही ठाउँमा हो मानवीय व्यवस्थापनको खोजी भएको पनि ।

विभिन्न अध्ययनहरूले देखाएअनुसार बितेको एक दशकमा मात्र सडक दुर्घटनामा २५ हजारको हाराहारी संख्यामा नागरिकको ज्यान गइसकेको छ सडक दुर्घटनाबाट । सडक भनेका मान्छेका जीवनसँग जोडिएका कुरा हुन् । सडकले नै समृद्धिलाई स्थापित र विस्तारित गर्छ । जहाँ सडक पुगेको हुन्छ त्यो ठाउँमा सडकसँगै हरेक कुरा पुग्छन् । सडक पुगेका ठाउँमा नागरिकका सुखसुविधादेखि राज्यले दिने सेवामा पहुँच बढ्छ ।

त्यसकारण पनि समग्र विकासका लागि पूर्वाधार र पूर्वाधारका लागि पहिलो कुरा सडक भनिन्छ । जहाँ सडक पुगेको हुन्छ त्यो ठाउँमा नागरिकको जीवन गुजाराका लागि चाहिने बाँकी आधारभूत कुराहरू आफैं पुग्छन् ।

तर यता सडकको यस्तो विस्तार सँगै अबोध, निर्दोष र ठूला सपना बोकेका जीवनहरू गुमिरहेका छन् असंख्य मात्रामा । कतिपय अवस्थामा र कतिपय स्थानमा त सडकको नाम नै ‘ज्यानमारा’ भनी सम्बोधन हुन थालेका छन् । एकै ठाउँमा पटकपटक दुर्घटना भइरहँदा आम मान्यतामा यस्तो नाम रहन गएको होला तर जुनसुकै प्रकारका हुन् निश्चय नै सडकमात्रै ज्यानमारा होइनन् । ज्यानमारा हो भने मानवीय व्यवस्थापन पनि हो ।

प्रत्येक पछिल्ला दिन सडक दुर्घटनाका डरलाग्दा घटनाले अखबारका पाना भरिने गरेका छन् । तिनले गरेका रिपोर्ट अनुसार वितेको एक दशकमा मात्रै एक लाख पाँच हजार दुर्घटना भए भने २५ हजारको हाराहारीमा मृत्यु भएका विवरण सार्वजनिक भएको छ । यसको दुःखद् पक्ष के हो भने खासगरी सडकमा हुने दुर्घटनाको न छानबिन भयो न सतर्कता अपनाउन पहल नै भयो ।
पूर्वगृहमन्त्री माधव घिमिरे आफंै दुर्घटनामा परेर अहिलेसम्म बेपत्ताकै अवस्थामा हुनुहुन्छ र यो दुर्घटनापछि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा बनाएको छानबिन समितिले दिएको प्रतिवेदनलाई ध्यानमा राख्ने हो भने मानवीय पक्षबाट हुनुपर्ने काम पनि भएका छैनन् । ११ असोज २०७३ मा यो समिति बनेको थियो ।

समितिले पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाव ल्याउन कार्यादेश पाएको थियो । दुई महिनाको अध्ययनपछि २३ मंसिर २०७३ मा नै समितिले प्रतिवेदन दिएको थियो । सवारीसाधनको संख्यामा वृद्धि भए पनि सडकको स्तरोन्नति नभएकाले दुर्घटना बढेको समितिको ठहर छ । चालक, पैदलयात्री र यात्रीमा सडकसम्बन्धी ऐन, नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको निष्कर्ष समितिको छ । यसका लागि चेतना बढाउन र नियम–कानुन कार्यान्वयन गराउन नयाँ पहल गर्न समितिले सिफारिस गरेको थियो ।

यो समितिको अध्ययनअनुसार पनि बितेको ११ वर्षमा ९१ हजार आठ सय ५७ सवारी दुर्घटनामा २० हजार एक सय ७७ व्यक्तिले ज्यान गुमाएका थिए । समितिले प्रतिवेदन बुझाएपछिको वर्ष ०७५/७६ मा १३ हजार तीन सय ६६ सवारी दुर्घटना भएका विवरणहरू सार्वजनिक भए भने दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चार हजार तीन सय ७६ गम्भीर तथा दस हजार तीन सय ६० जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । यो एक वर्षमा मात्रै यस्तो दुर्घटनामा परी करिब १५ हजारको संख्यामा घाइते भएको भन्ने विवरण सामान्य होइन । विभिन्न तथ्यांकले नै भनिरहेका छन् सडक दुर्घटनामा प्रत्येक दिन औसत ५ व्यक्तिले ज्यान गुमाइरहेका छन् । समाचारमा भनिएअनुसार यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुई गुणा हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।

दुर्घटनाको प्रमुख कारक मानिएको अर्को तथ्यांक झनै डरलाग्दो छ । समाचार विवरणमा नै आए अनुसार पछिल्लो पाँच वर्षको तथ्यांक भन्छ, मुलुकभर भएकामध्ये ९२ प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही देखिएको छ । यो अवधिमा भएका ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हुन । यो कुल दुर्घटनाको ९२ दशमलव १२ प्रतिशत हो । मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेकजस्ता चालकका गल्तीले यी दुर्घटना भएका हुन्  । त्यसो हो भने त सडकलाई ज्यानमार भनेर पन्छिने कुरै भएन । ९२ प्रतिशत दुर्घटनाका कारण मानवीय त्रुटि हो भने बच्ने उपाय खोज्ने ठूलो ठाउँ पनि यही हुनुपर्छ ।

सडक दुर्घटनाको यो तथ्यांक वास्तवमा नै डरलाग्दो छ, तर यसलाई न्यूनीकरण कसरी गर्ने भन्ने पक्ष भने मौन जस्तै छ । स्वाभाविक छ यस्ता दुर्घटनामा यात्रुमात्र होइन चालककै समेत ज्यान गएको पाइन्छ । उदाहरणका लागि यहाँ प्रस्तुत भएको एकै ठाउँमा १९ जनाको ज्यान लिएको सन्धिखर्क–गोरुसिंगे खण्डको यो दुर्घटनामा सवारी चालक र त्यसका मालिकको पनि मृत्यु भएको थियो । यो बसमा सवार एकजना यात्रुका अनुसार बसलाई छिटो कुदाउन बस मालिकले नै चालकलाई भनिरहेका थिए । यसलाई आधार मान्ने हो भने सतर्कता अपनाउने यो एउटा ठाउँ हुन सक्तछ– बढी जोखिम लिँदा आफ्नोसमेत ज्यान जान्छ भन्ने बोध गराउन ।

सवारीका क्षेत्रमा आम मान्यता छ प्रस्ताव भएका सम्भावित जोखिमबाट बच्ने उपायको समेत अवलम्बन कमैमात्र हुने गरेको छ । जस्तो लामो दूरीका बसमा दुई चालक राख्ने व्यवस्था त्यसमध्येको एउटा हो तर यात्रुहरूले नै कतिपय ठाउँमा बताइरहेको पाइन्छ– एकैजनाले दैनिक १६ घण्टासम्म चलाइरहे  । ‘लामो बाटोमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६ घण्टामा पालो फेर्नुपर्ने’ व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐनले गरेको छ । यस्तो व्यवस्थाको कडारूपमा पालना गरियो भने मात्रै पनि कम्तीमा चालकको थकानबाट हुने दुर्घटनाबाट जोगिन वा जोगाउन सकिन्छ ।
(महर्जन, नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)