काठमाडौं । विधान संशोधनका लागि भनेर कात्तिक २९ गते बोलाइएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित भएसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने निश्चित भएको छ । आगामी चैत्रमा हुने साधारणसभाले वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल वा किशोर प्रधान को हुने भन्ने मात्र कौतुहलता बढेको छ ।
महासंघको विधान २०४९ लाई संशोधन गर्न बोलाइएको विशेष साधारणसभा रोक्का गर्ने स्थायी समितिको बैठकको निर्णय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पूर्वअध्यक्ष चण्डी ढकालको संयोजकत्वमा बनेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगित गरी त्यसको प्रक्रिया अघि बढाउन स्थायी समितिलाई अनुरोध गरेको थियो ।
अधिकांश पूर्वअध्यक्षहरूले हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने र वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गराउने विधानको प्रावधानलाई नै यस पटक यथावत् राख्न सल्लाह दिएपछि विशेष साधारणसभा स्थगित भएको हो । अर्कोतर्फ यो प्रावधानको विरुद्ध अधिकांश जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको र प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष चुन्ने पूर्व प्रावधानमै फर्कनुपर्ने मागका कारण विशेष साधारणसभाबाट संशोधन गर्ने वर्तमान कार्यकारिणी समितिको निर्णयकै कारण सभा बोलाइएको थियो ।
वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुन रोक्नको लागि मात्र विधान संशोधन गर्न लागिएको भन्ने अधिकांश मारवाडी समुदायका उद्योगी व्यवसायीहरूको मत र त्यसको नेतृत्व निवर्तमान अध्यक्ष पशुपति मुररका गरी दबाब बढाए पछि साथै अधिकांश पूर्वअध्यक्षहरूले विरोध गरेपछि विधान संशोधन र विशेष साधारणसभा रोकिएको हो ।
अब आगामी चैत्रमा हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको नियमित साधारणसभाबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने बारेको विवाद टुंगिनेछ ।
हालकी अध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउनका लागि संशोधन गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बन्ने प्रावधानलाई नियमित साधारणसभाले संशोधन गर्ने कुरा सम्पूर्ण उद्योगी व्यवसायीले बताउँदै आएका छन् । किनभने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले गर्दा उद्योग वाणिज्य महासंघको क्रियाकलाप अत्यन्तै न्यून हुँदै गएको ठम्याइँ जिल्ला, नगर, संघहरूको छ ।
अध्यक्ष भइसकेको र वरिष्ठ उपाध्यक्ष स्वतः उपाध्यक्ष हुने प्रावधानले गर्दा केन्द्रीय नेतृत्व जिल्ला नगरको भ्रमण पनि नगर्ने र कार्यक्रम पनि नराख्ने प्रवृत्ति बढेकोले पनि प्रत्यक्ष निर्वाचनको माग बढेको हो ।
यदि आगामी चैत्रमा हुने नियमित साधारणसभाले उक्त प्रावधान हटाए पनि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने निश्चित छ । तर, त्यसपछिको कार्यकालका अध्यक्ष बन्नेहरूले चाहिँ प्रत्यक्ष निर्वाचनलाई आत्मसात् गर्नेपर्ने हुन्छ । गोल्छापछिका दाबेदार भनिएको उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले साधारणसभाले बनाउने विधानको प्रावधानलाई ‘फेस’ गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया