काठमाडौं । पहिले पहिले एनसेलले अफर र उपहारको नाममा मोबाइलको डाटा बेचेर ग्राहकलाई ठगेको गुनासो यत्रतत्र सर्वत्र सुनिन्थ्यो । त्यसैको नक्कल गर्दै सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल टेलिकमले ग्राहक ठगेको उजुरीको चांग उसकै कार्यालयको गुनासो शाखामा पुगेको खबर देशान्तरलाई प्राप्त भएको छ । लामो समय अख्तियारले फोरजीको फायल कब्जामा लियो भनेर सेवा नै रोकिएको गुनासो गर्ने टेलिकम अहिले कमजोर प्राविधिक नेतृत्व र राजनीतिक नेतृत्वको कारण ठगी गरी नाफा कमाउने धन्दामा लागेको भेटिएको छ ।
पहिलो प्रतिस्पर्धामा चीनको हुवावे कम्पनीलाई ठेक्का दिएको टेलिकमले अख्तियारको कारण देखाउँदै हुवावेको ठेक्का रद्द गरेको भने पनि नयाँ राजनीतिक नेतृत्व र टेलिकमको नेतृत्व आएपछि घुमाउरो पाराले हुवावेकै भगिनी संस्था सीसीएसआईलाई दिएको थियो ।
उसले देशभरि ५२ स्थानमा फोरजी सेवा सञ्चालन गर्ने जिम्मा पाएको र अहिले टेलिकमले ५२ स्थानमै फोरजी सेवा चलेको दाबी गरे पनि काठमाडौंबाहेक मुलुकका कुनै पनि स्थानमा फोरजी सेवा सञ्चालनमा नभएको टेलिकमका उपभोक्ताहरूको गुनासो छ ।
उसले २४० रुपैयाँमा १५ सय एमबी डाटा बेचिएको भने पनि काठमाडौंबाहेक कुनै पनि स्थानमा फोरजी सेवा चल्दैन र स्वतः डाटा थ्रीजीमा कन्भर्ट भई रकम भने सकिन्छ । यसको मुख्य कारण टेलिकम र ठेकेदार कम्पनीको मिलेमतोमा देशका ५२ स्थानमा फोरजीका एक/दुई वटा टावर मात्र ठड्याउनु हो । जसका कारण कभरेज नपुगेर फोरजीको सट्टा सबै ठाउँमा ग्राहकले थ्रीजी सेवा पाउँछन् तर फोरजीको डाटा किनेको रकम स्वाहा हुन्छ ।
यसमा टेलिकमकै पूर्वकर्मचारीको पनि मिलेमतो देखिन्छ । लामो समय टेलिकममा प्रोक्युरमेन्ट हाकिमका रूपमा काम गरेका प्रदीप ठाकुर हालसालै निवृत्त भई सीसीएआईको नेपाल कार्यालयमा ठुलै पदमा कार्यरत छन् । यसको कार्यालय बालुवाटारस्थित कालिका टावरमा छ । उनी र टेलिकमका उच्च अधिकृतको मिलेमतोमा ग्राहक ठग्ने काम भइरहेको छ । हालाकि नेपाल टेलिकमको कर्मचारी विनियमावलीमा सेवा निवृत्त भएको २ वर्षसम्म अन्यत्र नोकरी गर्न नपाइने प्रावधान छ ।
तर सो प्रावधानको ठाडै उल्लंघन गरी उनी सीसीएसआईमा जागिर खाइरहेका छन् । अर्को हास्यास्पद कुरा टेलिकम व्यवस्थापनले फोरजी सञ्चालन पछि अधिकत्तम नाफामा गएको जानकारी निकट भविष्यमै गराउने उद्देश्य राखी कर्मचारी युनियनसँग अन्तरक्रिया गर्ने भएको छ ।
प्रतिक्रिया