देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्वेन्टी–२० क्रिकेट : नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ४ विकेटले पराजित

देशान्तर

काठमाडौं । नेपालले करण केसीको उत्कृष्ट प्रदर्शन मद्दतमा ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको हो ।

आइतबार भएको आफ्नो पहिलो खेलमा पनि नेपालले हङकङलाई ४ विकेटले नै पराजित गरेको थियो । नेदरल्यान्ड्सले दिएको १३४ रनको चुनौती नेपालले अन्तिम एक बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनरकारुपमा आएका कप्तान पारस खड्का ४१ बलमा ३३ रन बनाएर ‘एलबीडब्लु’ आउट भए ।

त्यसपछि धर्मराएको नेपाली इनिङ्सलाई विनोद भण्डारीले केही सम्हाले । उनी २२ बलमा २६ रन बनाएर पवेलियन फर्किए । विनोदले हङकङविरुद्ध अर्धशतक बनाएका थिए । अर्का ओपनर पवन सर्राफले ९ रन, आरिफ शेखले २ रन, दीपेन्द्रसिंह ऐरीले ८ रन र रोहितकुमार पौडेलले ५ रनमात्र बनाए ।

करण केसीले नेपालका लागि बलिङसँगै ब्याटिङमा पनि विस्फोटक प्रदर्शन गरे । उनले १४ बलमा अविजित ३१ रन जोड्दै नेपाललाई जित दिलाए । जसमा तीन छक्का र एक चौकासमेत सामेल थियो । सोमपाल कामी ३ रनमा अविजित रहे ।

बलिङतर्फ नेदरल्यान्डस्का रोलोफ भान डेर मेरवेले २ विकेट लिए । त्यसअघि, टस जितेर नेपालले नेदरल्यान्ड्सलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । नेदरल्यान्ड्सले १९.३ ओभरमा ‘अलआउट’ हुनुपूर्व १३३ रन जोडेको थियो ।

उसका लागि म्याक्स ओ’डोडले ४४ बलमा सर्वाधिक ४३ रन बनाए । कोलिन अकेरमनले २० बलमा २९, अन्टोनियस सट्टलले १४ बलमा २१, स्कट इड्वार्ड्सले १३ बलमा १६ रन जोडे । नेपाली खेलाडीले कसिलो बलिङ गरेपछि नेदरल्यान्ड्स पूरा २० ओभर टिक्न सकेन । नेपालका लागि करण केसीले ३.३ ओभर बलिङ गर्दै १७ रनमात्र दिएर ४ विकेट लिए । करणको यो टी–२० करियरको अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

त्यस्तै, सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २० रन दिएर समान ४ विकेट झारे । ललित राजवंशीले १ विकेट लिए । नेदरल्यान्ड्सका एकजना खेलाडी ‘रनआउट’ भएका थिए । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले बुधबार आयरल्यान्डसित तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।