काठमाण्डौ । नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने बताए । उपसभापति निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिै । केन्द्रीय समिति बैठक चलीरहेको भन्दै बैठकपछि सबै रिक्त विभाग गठन गर्ने तयारी रहेको उपसभापति निधिले बताए ।
प्रदेश तहमा विभाग गठन गर्न भने कांग्रेसको प्रदेशमा संरचना नै बनेको छैन । कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ । तर, अझै पनि प्रदेशको संरचना बनाउने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन ।
हाल कांग्रेसको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन अवस्थामा छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमितिसमेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ । यसैगरी, दलित संघ, किसान संघलगायतका संगठन पनि वर्षौंदेखि निष्क्रिय छन् भने शुभेच्छुक संगठनहरूले पनि वर्षौंदेखि महाधिवेशन नै नगरी आलटाल गर्दै आएका छन् ।
प्रतिक्रिया