काठमाडौँ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेस हुने भएको छ । राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची तय भइसकेको छ ।
महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन ।
नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो । राष्ट्रिय सभामा नेकपाका सचेतक देवकोटाले महासंघसँग गरिएको प्रतिबद्धताअनुसार विधेयकमा संशोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
महासंघसँग गरिएको प्रतिबद्धताअनुसार प्रतिपक्षसँगको सहमतिमा विधेयकमा आवश्यक संशोधनहरू गरिने उनको भनाई छ ।
प्रतिक्रिया